वीरगन्ज,१७बैशाखः भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले दलित र मुस्लिम समुदाय अब एकिकृत भएर हक र अधिकारका लागि लड्नुपर्नेमा जोड दिएका छन् । दलित महिला संघ पर्साले वुमेन्स फण्ड एसियाको सहयोगमा बुधबारदेखि वीरगन्जमा आयोजना गरेको दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अहमदले राज्यबाट उपेक्षामा पारिएका र मुलप्रवाहीकरणबाट बञ्चित दलित, मुस्लिम र अल्पसंख्यक समुदायको सशक्तिकरण बिना देशको समृद्धि सम्भवब नरहेको बताए ।
दलित, महिला तथा मुस्लिम समुदायका व्यक्तिहरु सक्षम भएपनि पद र नेतृत्वमा पुग्न संघर्ष गर्नुपर्ने अवस्थाप्रति उनले आक्रोश पोखे । अध्ययनशिलसँगै नेतृत्व गर्ने क्षमता हुँदाहुँदै पनि आफु जिल्ला अध्यक्ष बन्न संघर्ष गरीरहेको उनले सुनाए । राज्य संरचनाले नै विभेदको नजरले हेर्न गरेको उनको टिप्पणी थियो।
राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानले महिला दलितको नेतृत्व विकासका लागि तालिम सहयोगी साबित हुने विश्वास व्यक्त गरे । दलित महिला सशक्त भएमा दलित समुदाय आफै सशक्त हुने उनको दाबी छ । उनले भने, ‘हामी निरन्तर साथ र सहयोग गरीरहेका छौँ, त्यसैले तपाईहरुले पनि आँट गर्नु र अघि बढ्नु । आफ्नो हक अधिकारका लागि आफै आवाज उठाउन सक्षम बनाउने नै यो कार्यक्रमको उद्देश्य हो ।’
समस्याबाट हरकोही गुज्रिरहेको बताउँदै उनले आफ्नो संवैधानिक व्यवस्था र अधिकारका बारेमा सचेत हुन आग्रह गरे । सामाजिक बहिष्करण, आर्थिक रुपमा विपन्नता र अन्य हरेक क्षेत्रबाट उपेक्षामा परेको बताउँदै उनले मधेश प्रदेश दलितको सवालमा रेड जोनमा रहेको धारणा राखे ।
महिला नेतृत्वको प्रवद्र्धन र अग्रपंक्तिमा रहेका महिला नेताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले बताइन् ।
तलिममा सहभागीहरुलाई महिला अधिकारकर्मी सलमा खातुनले नेतृत्व विकास, महिला र दलितका लागि नेपाल सरकारले गरेका कानुनी प्रावधानदेखि लिएर तिनको कार्यन्वयन, नीति निर्माण प्रक्रियामा महिलाको सहभागिता, सामाजिक समावेशिता तथा अधिकारसम्बन्धी विषयमा प्रशिक्षण दिनेछिन् ।
दलित महिला संघ पर्साकी कोषाध्यक्ष सदस्य संगीता दासको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भीम आर्मीका केन्द्रीय अध्यक्ष सुनिल राम, डोम समाजका अध्यक्ष अनिल मल्लिक, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, चमार कल्याण समाजका अध्यक्ष जादोलाल महरा, दलित महिला संघका पदाधिकारी एंव कार्यसमिति सदस्य, वीरगन्ज महानगरपालिकाकी कार्यपालिका सदस्य नीतु कुमारी राम, दलित महिला सदस्य पुजा राम लगायतकोपनि उपस्थिती थियो ।

