Madhes Khabar
समाचार

सरकारकाे निर्देशनविपरीत गृहमन्त्री सुधन गुरुङकै संस्था ‘हामी नेपाल’ ले पैसा उठाउन थाल्याे

काठमाडौँ,१०भदन‌ं:सरकारले रसुवाका बाढीपीडितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ ले भने सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि आह्वान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न तथा नगराउन आग्रह गरेको थियो । तर सरकारको उक्त आग्रह सार्वजनिक भएको केही समयमै ‘हामी नेपाल’ ले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितका लागि आर्थिक तथा वस्तुगत सहयोग गर्न सार्वजनिक आह्वान गरेको सूचना सामाजिक सञ्जालमा छरपस्ट भएकाे छ ।

‘हामी नेपाल’ ले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत रसुवामा बाढीको अवस्थालाई मूल्याङ्कन गर्दा प्रभावित परिवारका लागि तत्काल सहयोग आवश्यक देखिएको जनाएको छ।

संस्थाले बाढीका कारण धेरै परिवारका घर, जीविकोपार्जनका साधन तथा आधारभूत आवश्यकताका सामग्री बगाएको र धेरै परिवार आश्रय, खाना तथा स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएको उल्लेख गरेको छ।

संस्थाले आफूहरूको उद्धार तथा राहत टोली रसुवामै खटिएर प्रभावितलाई तत्काल सहयोग उपलब्ध गराउन काम गरिरहेको दाबी गर्दै राहत तथा उद्धार कार्यलाई निरन्तरता दिन सबैसँग सहयोगका लागि अपिल गरेको छ।

वस्तुगत सहयोग गर्न चाहनेका लागि आवश्यक सामग्रीको सूची र सामग्री बुझाउने स्थानको विवरण उपलब्ध गराइएको संस्थाले जनाएको छ । आर्थिक सहयोग गर्न चाहनेका लागि भने बैंक खाताको विवरण तथा क्यूआर कोडसमेत सार्वजनिक गरिएको छ।

प्राधिकरणले भनेको थियो-जथाभावी पैसा नउठाउनुहोस्

यसअघि गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न चेतावनी दिएको थियो ।

प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा केही व्यक्ति तथा समूहले बाढी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न थालेको र नगद सहयोगका लागि क्यूआर कोडसमेत सामाजिक सञ्जालमा सेयर गरिरहेको गुनासो प्राप्त भएको जनाएको थियो ।

प्राधिकरणले नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउनसमेत अनुरोध गरेको थियो ।

अनधिकृत रूपमा आर्थिक सहयोग सङ्कलन भइरहेको जानकारी पाएमा प्राधिकरणको ०१–४२१११९७ मा सूचना दिनसमेत आग्रह गरिएको थियो ।

तर सरकारकै उक्त आग्रहपछि गृहमन्त्रीसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ ले आफ्नै सामाजिक सञ्जालमार्फत बैंकिङ विवरण र क्यूआर कोड सार्वजनिक गर्दै सहयोग आह्वान गरेपछि सरकारी निर्देशन र संस्थाको कदमबीच प्रश्न उठेको छ ।

यद्यपि, ‘हामी नेपाल’ ले सार्वजनिक गरेको अपिलमा आफूले रसुवामा उद्धार तथा राहत टोली परिचालन गरिरहेको र संकलित सहयोग प्रभावित परिवारको राहतका लागि प्रयोग गरिने जनाएको छ।

सरकारले भने विपद्का बेला राहत तथा सहयोग संकलनलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक संयन्त्रमार्फत मात्र सहयोग गर्न आग्रह गर्दै आएको छ।साभार:नेपालप्रेस

Related posts

एम्बुलेन्समा पटकाको तस्करी

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो ७० औं प्रहरी दिवस : अमर शहिद प्रहरीका परिवार सम्मानित

MadhesKhabar

मन्त्री यादवको निर्देशनमा बाराका ५ पालिकामा डीप बोरीङ जडान गरेर खानेपानीको आपूर्ती सुरु

MadhesKhabar

Leave a Comment