Madhes Khabar
वाग्मती प्रदेश

त्रिशूली बजारको विद्यालयका अधिकांश विद्यार्थीहरु सुरक्षित, केही अझै सम्पर्कविहीन

काठमाडौं,१०भदाैं:रसुवा बाढीले बगाएको नुवाकोटको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरू सुरक्षित रहेको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताएका छन्।

बाढीले विद्यालय क्षेत्रमा ठूलो क्षति पुगे पनि अधिकांश विद्यार्थीहरू भने सुरक्षित रहेको उनले बताएका हुन्।

यद्यपि उनले विद्यार्थीहरू को कहाँ छन् भन्ने थाहा नभएको बताएका छन्। ‘कतिपय अभिभावकले भने विद्यार्थीहरू उनीहरूसँग सुरक्षित रहेको बताएका छन्,’ उनले भने।

बाढी आएको सूचना पाएपछि उनले विद्यार्थीहरूलाई बाढी आउनुअघि नै स्कुल छाड्न भनेको तर केही विद्यार्थीहरू भने पुलतिर गएको हुनसक्ने उनले बताए।

केही शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना व्यक्तिहरू त्रिशूली बजार नजिकैको माथिल्लो डाँडामा सुरक्षित रहेको उनले बताए । अहिले उक्त क्षेत्रमा नेटवर्क र सञ्चार सम्पर्क विच्छेद भएको छ। बिजुली बत्ती पनि नभएकाले फोनलगायतका उपकरण पनि अफ हुने अवस्थामा पुगिसकेका छन्।

कतिपय अभिभावकले भने बच्चा नभेटिएको भन्दै खबर गरिरहेको दवाडीले बताए।

बिहानको प्रार्थनाका बेला बाढीको सूचना आएको थियो। विद्यालयभित्र देखेका विद्यार्थीलाई बाहिर निकाले पनि बाँकी धेरै विद्यालय आउँदै गरेको वा घरमै रहेको यकिन नभएको उनले बताएका थिए।

विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या १ हजार ६४३ जना छन्।

बुधबार बिहान त्रिशुलीमा आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ। बाढीले त्रिशुली बजार नै बगाएको छ।

नुवाकोटकै शैक्षिक धरोहरका रुपमा रहेको उक्त विद्यालय २००० सालमा स्थापना भएको थियो। कुनै बेला धादिङबाट समेत त्यहाँ पढ्न जाने विद्यार्थीको संस्था ठूलो थियो।

Related posts

मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

MadhesKhabar

हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध

MadhesKhabar

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ ३ जनाकाे मृत्युु ,५२ जना घाइते

MadhesKhabar

Leave a Comment