Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा–बारामा गण्डक नहरका ५० वर्ष पुराना अधिकांश पुल जोखिममा

वीरगन्ज,९ भदौं : नियमित मर्मतसम्भारको अभावमा गण्डक नहरअन्तर्गत पर्सा–बारामा रहेका अधिकांश पुल जीर्ण बनेका छन् । नहरको एप्रोच सडकमा रहेका साना–ठूला गरी २६ पुलमध्ये केही अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

बाराको फेटा गाउँपालिकास्थित बंगरी खोला, वीरगन्ज महानगरपालिकास्थित सिर्सिया खोला र पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलाका पुल सबैभन्दा जीर्ण अवस्थामा छन् । पुलका विभिन्न भागमा प्वाल पर्नुका साथै संरचना कमजोर बन्दै गएकाले जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम छ ।

गण्डक नहर भारत सरकारले सन् १९७५ र १९७६ मा दुई चरणमा निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गरी रौतहटको बागमतीमा मिसिने ८१ किलोमिटर लामो नहरलाई पूर्वी नहर भनिन्छ । निर्माणका बेला पर्सा, बारा र रौतहट गरी तीन जिल्लाका ३१ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको थियो ।

नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्माण गरिएको ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ । भारततर्फ करिब ९२ किलोमिटर यात्रा गरेपछि नहर पर्साको जानकीटोलबाट नेपाल प्रवेश गर्छ ।

नहरसँगै निर्माण गरिएको एप्रोच सडक र त्यसमा रहेका पुललाई अहिले तीनै जिल्लाका बासिन्दाले हुलाकी सडकको विकल्पका रूपमा प्रयोग गर्दै आएका छन् । संघीय सरकारले रौतहटदेखि पर्सासम्मको नहरको एप्रोच सडक कालोपत्र गरिसकेको छ । तर सडक कालोपत्र गर्ने क्रममा जीर्ण पुलको मर्मतसम्भार वा नयाँ पुल निर्माण भने गरिएको छैन । सडक कालोपत्र भएपछि यसको प्रयोग झनै बढेको छ, जसले जीर्ण पुलमाथिको भारसमेत बढाएको छ ।

हुलाकी सडकपछि पर्सा, बारा र रौतहटलाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा विकसित भएको यो सडक दैनिक आवागमनका लागि उपयोगी छ । स्थानीय बासिन्दादेखि कृषि उपज बजारसम्म पु¥याउने किसानले समेत यसको व्यापक प्रयोग गर्दै आएका छन् ।

वीरगन्जको जगरनाथपुर क्षेत्रमा पछिल्लो डेढ दशकयता औद्योगिकीकरण तीव्र बनेपछि नहरको एप्रोच सडकमा मालवाहक सवारीको चापसमेत बढेको छ । यस क्षेत्रमा पर्ने सिर्सिया खोलाको पुल अत्यन्त कमजोर अवस्थामा रहेकाले पुलमा क्षति पुगेमा आसपासका उद्योग तथा औद्योगिक गतिविधिसमेत प्रभावित हुने सम्भावना छ ।

२०४६ सालअघिसम्म नहरको एप्रोच सडक सम्बन्धित कार्यालयले आफ्नै प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएको थियो । त्यसपछिको राजनीतिक परिवर्तनसँगै सर्वसाधारणका लागि सडक खुला गरिएको हो । तर प्रयोग बढ्दै गए पनि सडकमा रहेका खोलाका पुलको नियमित मर्मतसम्भार हुन सकेको छैन ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार पुल मर्मतसम्भार तथा नयाँ पुल निर्माणका लागि कार्यालयसँग छुट्टै बजेट छैन । कार्यालयले मुख्यतः नहर सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी मात्र सम्हाल्दै आएको छ ।

कार्यालय प्रमुख इन्जिनियर मनोजकुमार पटेलका अनुसार पछिल्लो समय नहरका पुलमा हेभी सवारीसाधनको आवागमन बढेपछि पुलको दुवैतर्फ हेभी सवारी सञ्चालन नगर्न सूचना राखिएका छन् । तर चालकहरूले सूचनाको अवज्ञा गर्दै कमजोर पुलबाटै भारी मालवाहक सवारी सञ्चालन गरिरहेका छन् । ‘पुलको क्षमता र अवस्थालाई ध्यान नदिई भारी सवारीसाधन सञ्चालन भइरहेकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्छ,’ पटेलले भने ।

तिलाबे खोलामा करिब तीन वर्षअघि आएको बाढीले पुल भत्काएपछि त्यसको विकल्पमा यसै वर्षदेखि बेली ब्रिज सञ्चालनमा ल्याइएको छ । तर उक्त पुलमा पनि क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन गुडाउने गरिएको पटेलले बताए ।

उनका अनुसार बेली ब्रिजको क्षमता २० टन मात्र हो । तर त्यसबाट ४० देखि ४५ टनसम्म भार भएका मालवाहक सवारीसाधन सञ्चालन भइरहेका छन् । ‘क्षमताभन्दा दोब्बरभन्दा बढी भार बोकेका सवारी गुड्दा बेली ब्रिजसमेत भासिने जोखिम छ,’ उनले भने ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराइसकेको भए पनि प्रभावकारी निगरानी हुन नसकेको पटेलको गुनासो छ । पुलको संरचनागत अवस्था कमजोर हुँदै गएको र क्षमताभन्दा बढी भारका सवारीसाधन सञ्चालन भइरहेकाले तत्काल मर्मतसम्भार तथा भार नियन्त्रण आवश्यक रहेको कार्यालयले जनाएको छ ।शंकर आचार्य/ कान्तिपुर

Related posts

त्रिशुलीमा बेपत्ता एन्जल बसको चालकका छोरा–छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड, गोली लागेर एकको मृत्यु

MadhesKhabar

वर्गिकरण अनुसारको शुल्क भन्दा बढी लिने विद्यालयलाई कारबाही गर्ने मेयर सिंहकाे चेतावनी

MadhesKhabar

Leave a Comment