Madhes Khabar
समाचार

होल्डिङ सेन्टरमा मृत भेटिएका बाराका पासवानकाे परिवारलाई सरकारले जग्गा र राेजगारी दिने

भक्तपुर,३१साउन:भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत फेला परेका बाराको सुवर्ण गाउँपालिका –२ का ५७ वर्षीय हीरालाल पासवानका परिवारलाई सरकारले तत्काल जमिन उपलब्ध गराउने भएको छ । सरकारले बाराको सुवर्ण गाउँपालिकामै सुकुमबासी परिवारले पाउने जमिन तत्काल उपलब्ध गराउने भएको हो ।

यस्तै, मृतकका परिवारका दुईजना सदस्यलाई रोजगारी, विद्यालय तहसम्मको शिक्षा र औषधोपचारको व्यवस्था मिलाउने सहमति पनि भएको छ । सहमतिपछि पासवान परिवार मृतकको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि तयार भएका थिए ।

शुक्रबार सरकार र पीडित पक्षबीच ५ बुँदै सहमति भएको हो ।उक्त सहमतिपत्रमा मृतक परिवारका तर्फबाट छोरा-बुहारी रवि-अञ्जलीले र सरकारका तर्फबाट सांसद पुरुषोत्तम यादव, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट, भूमि समस्या समाधान समितिका सदस्य अमिर न्यौपाने र उपसचिव सञ्जीव साहले हस्ताक्षर गरेका छन् ।

थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएको पासवान परिवार कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो । सरकारले सुकुमवासी बस्ती भत्काएपछि सुरुमा उनीहरु कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए । २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडे सारिएको थियो ।

हीरालालका छोराबुहारी र दुई नातिनी पनि छन् । छोरा रवि ज्याला मजदुरीको काम गर्दै आएका थिए ।

प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार गत बिहीबार हीरालाल हाेल्डिङ सेन्टरकाे कोठाभित्र मृत फेला परेका थिए ।

Related posts

हैजा प्रभावित वीरगन्जमा तत्काल जनशक्ति थप्ने खानेपानीमन्त्री यादव र स्वास्थ्यमन्त्री पाैडेलबीच सहमति

MadhesKhabar

वीरगञ्जमा यङ इन्टरप्रेनर्स समिट वुमन भब्यताका साथ सम्पन्न

MadhesKhabar

मालपाेतका पियनकाे अकुत कमाई ९ कराेड

MadhesKhabar

Leave a Comment