Madhes Khabar
समाज हेडलाइन

वीरगन्ज नाकाबाट बेचबिखनको जोखिममा परेका ३ सय ७८ महिला र बालिकाको उद्धार : ‘प्रेम सम्बन्ध’ र ‘नेटवर्किङ कम्पनि’ मुख्य चुनौती

माधुरी महतो

वीरगन्ज,३० साउनःवीरगन्ज नाकाबाट तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ ।

नाकामा परिचालित माइती नेपाल र प्रहरीको पहल र सहयोगमा आर्थिक वर्ष २०८०/०८१ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म तीन वर्षको अवधिमा ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको हो ।

वीरगन्जमा आयोजित एक कार्यक्रममा माइती नेपालकी पर्सा संयोजक गोमा पौडलले वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/०८१ मा ७९ महिला र ३२ बालिका गरी १११ जना, आर्थिक वर्ष २०८१/०८२ मा १०९ महिला र ६० बालिका गरी १६९ जना र गत आर्थिक वर्ष २०८२/०८३ मा ६३ महिला र ३५ बालिका गरी ९८ जननालाई उद्धार गरिएको जानकारी गराइन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा सीमा नकााबाट उद्धार गरी घर फर्काइएका ९८ जनामा १६ देखि १९ वर्ष उमेर समूहका ३५ जना र १९ वर्षभन्दा माथिका ६३ जना महिला तथा बालिकाहरू रहेको माइती नेपालले जनाएको छ ।

ती ९८ जना मध्ध्ये सबैभन्दा धेरै मधेस प्रदेशका ५१ जना,पर्साका २० जना , बाराका १६ जना, सर्लाहीका ७ जना, रौतहट, धनुषा र सप्तरीका २÷२ जना तथा सिराहाका १ जना) रहेका छन्। यस्तै बागमती प्रदेशका २२ जना, कोशी प्रदेशका १० जना, गण्डकी प्रदेशका ५ जना, लुम्बिनीका ४ जना, कर्णाली प्रदेशका २ जना र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन्।

वीरगन्ज नाका हुदैं भारत प्रवेश गर्न लागेका उनिहरुलाई सीमामै रोकेर उद्धार गरी अभिभावकको जिम्मा लगाएर घर फर्काइएको उनले बताइन् ।

‘प्रेम सम्बन्ध’ र ‘नेटवर्किङ कम्पनि’ मुख्य चुनौती

पौडेलका अनुसार,पछिल्लो समय मानव बेचबिखन र ओसारपसारको स्वरूप फेरिँदै गएको छ। पछिल्लो समय १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरू सामाजिक सञ्जालमार्फत चिनजान गरी ‘प्रेम सम्बन्ध’को बहानामा बढी जोखिममा पर्ने गरेको देखिएको उनले बताइन् ।

नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारको जोखिमपूर्ण अवस्थामा रहेकाहरू भारत जानुको मुख्य कारण ‘प्रेम सम्बन्ध’ र ‘नेटवर्किङ कम्पनी’को प्रलोभन देखिएको छ। माइती नेपाल लगायतका संघ–संस्था र सुरक्षा निकायले सीमा नाकामा गरेको कडाइ र निगरानीका क्रममा यस्तो तथ्य फेला परेको पौडेलले जानकारी गराइन् ।

उनका अनुसार, गत आर्थिक वर्षमा भारत जान लागेको अवस्थामा वीरगन्ज नाकामा रोकिएका कुल ९८ जनामध्ये सबैभन्दा धेरै ३४ जना प्रेम सम्बन्धमा परी भारततर्फ जान लागेका थिए। यो तथ्यांकले बालिका र किशोरीहरू भावनात्मक सम्बन्धको आवरणमा बेचबिखनको ठूलो जोखिममा रहेको प्रष्ट पारेको उनले बताइन् ।

यस्तै उद्धार गरिएका ९८ जनामध्ये १५ जना घुम्ने बहानामा,१२ जना नेटवर्किङ कम्पनीमा काम गर्ने लोभमा,११ जना जाने ठाउँ उद्देश्यको अत्तोपत्तो नभएका, ९ जना सामान किन्न जाने बहाना ,७ जना अन्य काम गर्ने बहाना, ४ जना आफन्त भेटघाट गर्न,३ जना आर्केस्ट्रामा काम गर्न,२ जना उपचारको बहाना र १ जना वैदेशिक रोजगारमा जाने बहाना बनाएकाहरु रहेको उनले जानकारी गराइन् ।

मानव बेचबिखन विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सीमानाकामा निगरानी बढाइनुका साथै सीमा क्षेत्रका वस्तीहरुमा सचेतनाका लागि सघन क्रियाकलापहरू सञ्चालन गरिएको माइती नेपालकी पर्सा संयोजक पौडेलले बताइन् ।

कार्यक्रममा सहभागी सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले मानव बेचबिखन तथा ओसारपसार लगायतका गतिविधि नियन्त्रणका लागि वीरगन्ज नाका र सहायक नाकाहरुमा यहि साउन १० गतेदेखि १६ सदस्यीय ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बीआइटी) परिचालन गरिएको जानकारी गराए। उक्त टोलीले नागरिक सहायता कक्ष स्थापना गरी वीरगन्जसहित यसआसपासका ६ वटा सीमानाकामा बिहान ५ बजेदेखि राति १२ बजेसम्म काम गरिरहेको बताए।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सबै सरोकारवालाको हातेमालो आवश्यक रहेको औंल्याए ।त्यस्तै पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले पनि यस्ता अपराध नियन्त्रणको दायित्व प्रहरीले मात्रै होइन स्थानीय ,पत्रकार ,समाजसेवी लगायत सबै सरोकारवालाले लिनुपर्नेमा जोड दिए ।

 

Related posts

वीरगन्ज–३१ को विद्यालय र सार्वजनिक स्थानमा २४ लाखको लागतमा शौचालय निर्माण

MadhesKhabar

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्

MadhesKhabar

Leave a Comment