Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसमा चिटको विषयलाई लिएर विद्यार्थी नेताहरुबीच कुटाकुट, २ घाइते, स्ववियु सदस्य पक्राउ

वीरगन्ज,२८ साउनःवीरगन्ज–१०स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा बिहीबार परीक्षामा एक परीक्षार्थीले मोबाइल प्रयोग गरेर चिट चोरेको विषयलाई लिएर विद्यार्थी नेताका दुई समुहबीच विवाद भई कुटाकुटसमेत भएको छ ।

बिहीबार क्याम्पसमा एमएमको फस्ट सेमेष्टरको परीक्षा चलिरहेका बेला परीक्षाहल भित्रै एक परीक्षार्थीले मोबाइल फोनको प्रयोग गरेर उत्तर पुस्तिकामा उत्तर लेखिरिहेको भेटिएपछि त्यसै विषयलाई लिएर विद्यार्थी नेताहरुको दुई समुहबीच विवाद भई कुटाकुट भएको हो । त्यसक्रमा प्रहरीले लाठी चार्जपनि गरेको थियो ।

बिहीबार एमएम फस्ट सेमेष्टरको परिक्षा दिइरहेका बेला स्ववियु सदस्यसमेत रहेका आयुष यादव र स्ववियु सभापति राजकुमार यादव पक्षबीच विवाद भई कुटाकुट हुदाँ दुई जना घाइतेपनि भएका छन् ।

क्याम्पसका एक कर्मचारीका अनुसार, बिहीबारको परीक्षामा परीक्षार्थीसमेत रहेका स्ववियु सदस्य यादव क्याम्पसले गरेको सिट प्लानिंग अनुसारको परीक्षा कोठामा नबसी अर्कै कोठामा बसेका थिए । त्यसपछि परीक्षामा खटिएका निरीक्षकले सिट प्लानिंग गरिएको कोठामै जान स्ववियु सदस्य यादवलाई आग्रह गर्दा उनले विवाद गरेका थिए । त्यहिबेला परीक्षा अनुगनमका क्रममा पुगेका स्ववियु सभापति यादवले परीक्षाको मर्यादा पालना गर्न आग्रह गर्दासमेत उनिसंगपनि स्ववियु सदस्य यादवले विवाद गरेका थिए । परीक्षा हलभित्रै उनको साथबाट मोबाइलसमेत भेटिएपछि विवाद झन् बढेको थियो ।

त्यसपछि पुगेका क्याम्पस प्रमुख डा. केशव यादवले स्ववियु सदस्य यादवको साथमा रहेको मोबाइल जफत गरेपछि आक्रोशीत यादवले फोन गरेर बाहिरबाट आफ्ना मानिसहरुलाई क्याम्पसमा बोलाएका थिए ।

त्यसपछि स्ववियु सदस्य यादव र स्ववियु सभापति यादव पक्षबीच क्याम्पस परिसरभित्रै हानहान हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

दुई समुहबीच भएको कुटाकुटमा दुई जना घाइतेपनि भएका छन् । घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का अन्दाजी २३ वर्षीय सुनिल यादव र वडा नम्बर १० का अन्दाजी २५ वर्षीय राजु श्रीवास्तव रहेका छन् । घाइते दुवै जना क्याम्पसकै विदार्थी रहेको र उनिहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुटाकुटमा संलग्न स्ववियु सदस्य यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यादवलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बिहीबार परीक्षा चलिरहेका बेला क्याम्पसले तोकेको भन्दा अर्को कोठामा परीक्षा दिन बसेका स्ववियु सदस्य यादव र परीक्षा अनुगमनका क्रममा पुगेका स्ववियु सदस्य यादव पक्षबीच कुटाकुट भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

यता स्ववियु सभापति यादवले भने परीक्षामा स्ववियु सदस्य आयुष यादवले अर्कै कोठामा बसेर मोबाइलबाट चिट चोरेर उत्तर लेखिरहेको भेटिएपछि आँफुले त्यसको विरोधगरेपछि उनले फोन गरेर बाहिरबाट मान्छेहरु बोलाएर आँफुमाथि आक्रमण गरेको आरोप लगाए।

परीक्षार्थी यादवले टेलिफोन गरेर बाहिरबाट बोलाएको अराजक समूहले क्याम्पसमामा प्रवेश गरी होहल्ला गर्दै परीक्षा नै बिथोल्ने प्रयास गरेको स्ववियु सभापति यादवले बताए । स्ववियु सदस्य यादव समुहको आक्रमणबाट आँफु पक्षका दुई जना विद्यार्थीहरु घाइते भएको पनि उनले बताए ।

उक्त घटनाको खबर पाएर क्याम्पसमा पुगेको प्रहरी टोलीले समेत स्थिति नियन्त्रणमा लिनुको सट्टा सत्यतथ्य नबुझी अन्धाधुन्ध लाठीचार्ज गरेको आरोप पनि स्ववियु सभापति यादवको छ ।

“परीक्षा जस्तो अत्यन्तै संवेदनशील र मर्यादित विषयमा खुलेआम धाँधली भइरहँदा टुलुटुलु हेरेर बस्न सकिएन। विरोध गर्दा बाहिरका मान्छे बोलाएर आक्रमण गरियो, अनि प्रहरीले उल्टै हामीमाथि लाठी बर्सायो,“ स्ववियु सभापति यादवले भने।

 

Related posts

जसपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

भारतबाट १०० रुपैयाँ बढीका समान ल्याउँदा भन्सार लिन थालेपछि मधेसका गृहिणीले उठाए कैयौँ प्रश्न

MadhesKhabar

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

MadhesKhabar

Leave a Comment