Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा एन्टी स्नेक भेनम नहुदाँ सर्पले टोकेका बिरामीहरुले पाएनन् उपचार

वीरगन्ज,२६ साउनः वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (ए.एस.भी.) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्प्तालले अन्यत्र पठाउन थालेको छ ।

सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट प्राप्त नभएकाले यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

नारायणी अस्पतालमा उपचारका लागि दैनिक सरदर सात आठ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलाद प्रसाद साहले बताए । तर सोमबारदेखि एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिएका कारण उपचारका लागि आउने सर्प दंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार, नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट सर्प दंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

यसअघि अस्पतालमा मौज्दात सकिनथालेपछि प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरको निर्देशनमा पर्साकै ठोरी, बाराको निजगढ, कौल्हबी, सर्लाहीको नवलपुर लगायतका स्थानमा रहेका सर्प दंश उपचार केन्द्रबाट मगाएर काम चलाइएको उनले बताए ।
अस्पतालमा एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिन लागेपछि साउन ७ गते नै आँफु जनकपुर गएर प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा जानकारी गराएको भन्दै उनले भने,त्यसदिन स्टक छैन भनेर फिर्ता पठाइदिए । त्यसपछि गत आइतबारपनि फोन गर्दा अहिले आइसकेको छैन भन्ने जवाफ पाए ।

अब फेरि बुधबार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा सम्पर्क गर्ने जानकारीपनि साहले गराए ।

 

Related posts

अर्थतन्त्र चलायमान बनाउन वीरगन्जमा पहिलो पटक “रात्री बजार” लाग्दै

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयमा पुगेर विद्यार्थीसंगै अभिभावकलाई पनि भेट्दै मेयर सिंह

MadhesKhabar

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

MadhesKhabar

Leave a Comment