जनकपुरधाम,१७साउन: संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार पुन: वार्ता भएको छ ।
जनकपुरको मिथिला यात्री निवासमा भएको वार्तामा गृहमन्त्री सुधन गुरुङ समक्ष हिन्दु सम्राट सेनाले थप ६ बुँदे माग प्रस्तुत गरेको थियो । वार्तापछि सञ्चारकर्मीसित कुरा गर्दै हिन्दु सम्राट सेनाका प्रतिनिधिहरुले मागप्रति गृहमन्त्री गुरुङ साकारात्मक रहेको र मागहरु सम्बोधन गर्ने आश्वासन दिएको प्रतिकृया दिए ।
वार्तामा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले शनिबार राति भएको वार्ताबारे कन्फयुजन रहेका विषयमा आइतबारकाे वार्तामा छलफल भएको बताए । वार्तामा शनिबार रातिकाे वार्तामा संयुक्त हिन्दु माेर्चाले राखेकाे १३ बुँदे मागपत्रका बारेमा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनाका प्रतिनिधिहरुलाई सरकारको धारणा प्रष्ट पारेका थिए ।
`हिजोको विषयमा केही अस्पष्ट, लेटरप्याडमा हस्ताक्षरको कुरामा अस्पष्ट रहेको कुराहरू उहाँहरूले राख्नु भयो,’ प्रजिअ लुईँटेलले भने, ‘गृहममन्त्रीजीले आफ्ना कुरा राखेर वार्ता टुंगियो । यो वर्ता १३ बुँदामा क्लियारिटी हो । मिडियामा जुन कुराहरू आएको छ, त्यसबारे गृहमन्त्रीज्यूले स्पष्ट पार्नुभयो । उहाँहरू सन्तुष्ट हुनु भएको छ । आन्दोलनको कार्यक्रम फिर्ता लिनु भएको छ ।’
हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले आइतबारकाे वार्ताम केही केही कुराहरू सच्याएको बताए । वार्ता सकिएपछि सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘केही कुराहरू सच्याइएको छ । मागहरू सम्बोधन गर्ने गृहमन्त्रीजीले आश्वासन दिनु भएको छ । अब गृहमन्त्रीले काहीकतैपनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नु भएको छ ।’
गृहन्त्री गुरुङ आइतबारकाे वार्तापछि बर्दिवास हुँदै मधेसका अन्य जिल्लाको भ्रमणमा निस्किएका छन् ।
शनिबार राति गृहमन्त्री गुरुङलाई हिन्दु माेर्चाले पेश गरेको १३ बुँदे मागपत्रमा भने पहिलो नम्बरमा हिन्दू राष्ट्र कायम गर्ने र अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने लगायतको बुँदा उल्लेख थियो ।

