वीरगन्ज,१६कार्तिकःसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तराई–मधेसको मौलिक पहिचान र संस्कृतिसंग जोडिएको कुश्ती खेलको संरक्षणका लागि युवा पुस्ता अगाडि सर्नु पर्ने बताएका छन् ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको मधवलमा शुक्रबार आयोजित विराट कुश्ती दंगल मेलाको समुदघाटन गर्दै मन्त्री गुप्ताले कुश्ती पहलमानी तराई–मधेसमा सदियौंदेखि चल्दै आएकाले यो तराई–मधेसको संस्कृति र मौलिक पहिचानसंग जोडिएको बताए ।
तर पछिल्ला केहि वर्ष यता कुश्ती खेल ओझेलमा पर्दै गएकाले यसको संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने उनले बताए ।यसको संरक्षण गर्न सरकारकोपनि दायित्व भएको उनले बताए ।
मन्त्री गुप्ताले गाँउघरमा विभिन्न चाडपर्वमा लाग्ने मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेपनि बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी र व्यवसायीहरुलाई आग्रहपनि गरे ।
उनले मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखेर ती वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए।
‘स्वदेशी उत्पादनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार छ’, उनले भने ।मधवलको दंगल कुश्ती मेलामा पनि पर्सा लगायत अन्य जिल्लाहरुबाट उद्यमशील सहभागी भइ आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेको देख्दा खुसी लागेको उनले बताए ।

