वीरगन्ज,१२ साउनःगत शनिबारदेखि उपचार सेवा ठप्प पारे हड्तालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले सामुहिक राजीनामा दिएका छन् ।
अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, अस्पतालमा ७० बढी चिकित्सक कार्यरत रहेकोमा तीमध्ये ६५ जना चिकित्सकले सामुहिक राजिनामा दिएका हुन् ।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ल अधिकारीको उपस्थितिमा भएको वार्तामै पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरुलाई धक्कामुक्का गर्दै दुव्र्यवहार गरेपछि थप आक्रोशित बनेका चिकित्सकहरुले सामुहिक राजिनामा दिएका हुन् ।
सोमबार राति र मंगलबार दिउँसोसम्म गरी अस्पतालका ६५ जना चिकित्सकहरुले अस्पतालका निमित्त मेसु डा. चित्तरञ्जन साहलाई सामुहिक राजिनामा दिएको अस्पतालका प्रवक्ता डा. सिंहले बताए ।
गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड तथा डा. प्रमोद राममाथि भएको निर्घात कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै वीरगन्जका चिकित्सकहरु गत आइतबारदेखि हड्तालमा छन् ।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) ले पनि राजिनामा दिनु पर्छ भनेपछि विवाद झन् चर्किएको थियो । त्यसपछि वार्तामा सहभागी चिकित्सकहरु वार्ता छाडेर निस्किन थालेपछि प्रहरी उपरीक्षक सुदीपराज पाठकले उनिहरुलाई धक्कामुक्की गर्दै प्रजिअको कार्यकक्षमा लगेका थिए । त्यसक्रममा चिकित्सक र प्रहरीबीच फेरि धकेलाधकेल भएको थियो । त्यसपछि चिकित्सकहरु वार्ता छाडेर जिल्ल प्रशासन कार्यालयबाट बाहिरिएका थिए ।

