
वीरगन्ज,११ साउनःवीरगन्जको नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हड्तालमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबारपनि प्रदर्शन गरेका छन् ।
आइतबार देखि अस्पतालको आकस्मिकसहित सबै उपचार सेवा ठप्प पारेर हड्तालमा उत्रिएका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले घण्टाघर चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । दोषीलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै उनिहरुले स्वास्थ्यमन्त्री निशा मेहताको राजिनमापनि मागेका छन् ।
यसैबीच सोमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले एक विज्ञप्ति जारी गर्दै अस्पतालको आकस्मिक कक्षमा गरिएको तोडफोड र डा. प्रमोद राममाथि भएको कुटपिटमा संलग्नहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सासंग माग गरेका हुन् ।
निमित्त मेसु साहले घटना भएको दिनको सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्न अराजक व्याक्तिहरुको पहिचान गरी कानुन अनुसार कारबाही गर्न माग गरेका हुन् ।
साथै उनले उक्त घटना पश्चात अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीहरु मानसिक र शारीरिक रुपमा भयभित भइ सेवा प्रवाह गर्न नमानेका कारण अस्पतालको आकस्मिकसहितका सबै उपचार सेवा अवरुद्ध भएको पनि जानकारी गराएका छन् । यसका साथै नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि वीरगन्जका अन्य निजी अस्पतालका चिकित्सकहरुपनि आन्दोलनमा उत्रिएका छन् । जसका कारण यहाँका प्राय सबै अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ ।
सरकारी र सामुदायिक अस्पतालका चिकित्सकहरु हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामी र सेवाग्राहीहरु समस्यामा परेका छन् ।
शनिबार नारायणी अस्पतालमा भएको घटनामा संलग्न रहेकामध्ये एक जनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको भएपछि ती व्याक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यता शनिबार आकस्मिक कक्षमा कार्यरत रहेकै बेला कुटिएका डा. रामलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
गत शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाँउलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डा. रामलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

