
काठमाडौं,२०असार:इजिप्टले फिफा विश्वकप फुटबलमा नयाँ इतिहास रचेको छ ।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको रोमान्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले स्तब्ध पार्दै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गर्न सफल भएको हो ।
खेलको सुरुआतदेखि नै आक्रामक बनेको इजिप्टले १३औं मिनेटमा इमाम आशौरको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।
तर, ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत बल क्लियर गर्न खोज्दा आफ्नै गोलपोष्टमा बल छिर्न पुग्यो ।
हानीको यो आत्मघाती गोलसँगै अस्ट्रेलिया खेलमा १–१ को बराबरीमा फर्किएको थियो ।
निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।
अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न सकेनन्, जसको फाइदा उठाउँदै इजिप्टले बाजी मार्यो ।
चौथोपटक विश्वकप खेलिरहेको इजिप्टका लागि यो ऐतिहासिक क्षण हो, किनभने यसअघिका तीनवटै संस्करणमा इजिप्ट समूह चरणबाटै बाहिरिएको थियो ।
अब इजिप्टले जुलाई ७ मा एटलान्टामा हुने क्वार्टरफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

