चितवन,११ असारःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा १ हजार ३ सय बढी प्रतिनिधिले मतदान नै नगरेको तथ्य बाहिरिएको छ ।
चुनाव अन्तर्गत बिहीबार दिउँसो सकिएको पहिलो चरणको मतदानमा कुल ४ हजार ३११ प्रतिनिधि मतदाता रहेकामा तीमध्ये २ हजार ९५९ जनाले मात्रै मतदान गरेको (भोट हालेको) विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिए । मतदानमा १ हजार ३५२ जना प्रतिनिधि अनुपस्थित रहे ।
महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै प्रतिनिधि घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका एक नेता बताउँछन् ।
९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना उम्मेदवार चुनावी मैदानमा थिए । पहिलो चरणको मतदानको नतिजापश्चात पदाधिकारीको निर्वाचन प्रक्रिया सुरू गरिनेछ ।साभारःनेपालप्रेस

