जनकपुरधाम,८असार: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनबीच पार्टी सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी घोषणा गरेका एक प्रतिनिधिले मताधिकार नै गुमाएका छन् । उनको नाम अन्तिम प्रतिनिधि सूचीबाट हटाइएको छ।
बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) ले आफूलाई बदनीयतपूर्वक महाधिवेशन प्रतिनिधिको अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन् । गुप्ताका अनुसार आइतबार राति करिब ८ बजे सार्वजनिक गरिएको प्रारम्भिक प्रतिनिधि नामावलीमा उनको नाम समावेश थियो । तर, त्यसपछि प्रकाशित अन्तिम नामावलीमा भने उनको नाम हटाइएको हो ।
गुप्ताले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यही कारणले नै आफ्नो नाम प्रतिनिधि सूचीबाट हटाइएको उनको दाबी छ।
गुप्ताले आफू पार्टीको बारा क्षेत्र नम्बर-३ का निर्वाचित सभापति भए पनि महाधिवेशन प्रतिनिधिको हैसियतबाट वञ्चित गरिएको बताए ।
‘लोकतन्त्रमा सबैलाई प्रतिस्पर्धा गर्ने अधिकार हुन्छ । मैले सभापतिमा उम्मेदवारी घोषणा गरेकै कारण प्रतिनिधि सूचीबाट हटाइनु लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो,’ उनले भने।
उनले उम्मेदवारी घोषणापछि आफ्नो प्रतिनिधित्वमाथि प्रश्न उठाइएको र अन्तिम सूचीबाट नाम हटाइएको भन्दै आपत्ति जनाएका छन् ।
गुप्ता थप्छन्, `यो पार्टीको आधारस्तम्भ हामीले पनि बनाएको छौँ, हाम्रो पनि पनि पार्टी, हाम्रो पनि अधिकार छ, मैले यो विषयमा सभापति रवि लामिछनेसँग पनि कुराकानी गर्छु ।´
उनले आफूले प्रदेश कमिटी लगायत सबैसँग जवाफ खोजेको कसैले रेस्पोन्स नगरेको बताए ।
रास्वपाका मधेस सभापति मनिष साहले भने उम्मेदवारि घोषणाको कारणले मात्र गुप्ताकाे नाम नहटेको बताए ।
`मलाई यो विषयमा औपचारिक जानकारी त आइसकेको छैन, तर उहाँले उम्मेदवारी घोषणा गर्दा अघि सार्नुभएको एजेन्डाले गर्दा कारबाहीस्वरूप नाम हटाइएको भन्ने सुनेको छु । यो पार्टीको अनुशासन समिति र निर्वाचन आयोगको निर्णय हो ।´
साहले गुप्तामाथि थप कारबाही हुनसक्ने पनि बताए ।
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका रास्वपाका सहमहामन्त्री गणेश धिमालले भोला साह कानु गुप्ताको प्रतिनिधित्व खारेज भएको सन्दर्भमा यो निर्वाचन समितिको अधिकार क्षेत्रभित्रको विषय रहेको टिप्पणी गरे ।गुप्ताको पृष्ठभूमि विवादित रहेको र तीन महिनाअघि नै कारबाही सिफारिस भइसकेको उनको भनाइ छ ।
गुप्ताले अघि सारेको एजेन्डालाई संकेत गर्दै धिमालले व्यक्तिविशेषलाई तोकेर अघि बढ्न नहुने बताए । सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी दिने गुप्ताको हैसियत नरहेको तर्कसमेत उनले गरे ।
के थियो गुप्ताको एकसुत्रीय एजेन्डा ?
गुप्ताले उम्मेदवारी घोषणा गर्दै हालेको पोष्टरमा लेखेका थिए: एकमात्र एजेन्डा- चन्दन स्वर्णकारको साधारण सदस्यता फुकुवा गराउनका लागि मेरो उम्मेदवारी केन्द्रीय सभापति पदमा रवि लामिछानेको विरूद्धमा ।
पार्टीले यसैलाई आपत्तिको विषय बनाएको हो ।
गत जेठ ६ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको संगठन विभागले उनको साधारण सदस्यतासमेत खारेज गरेको पत्र सार्वजनिक भएपछि मधेश प्रदेशमा रास्वपाभित्र हलचल मच्चिएको थियो ।
अनुशासन आयोगको सिफारिसअनुसार संगठन विभागले जेठ ६ गते स्वर्णकारलाई कारबाहीको पत्र पठाएको हो । तर पत्रमा कारबाहीको कारण खुलाइएको थिएन । बुझिएअनुसार उनीमाथि आर्थिक अनियमितता गरेको तथा पार्टीप्रति बफादार नरहेको आरोप लगाइएको थियो ।
तर, स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफूमाथि अन्याय भएको र आफ्नो राजनीतिक हत्या गरिएको बताएका छन् ।
तथ्य र प्रमाणलाई पूर्ण रूपमा बेवास्ता गर्दै निष्पक्ष छानबिनबिनै केन्द्रले कारबाहीको पत्र पठाएको उनको गुनासो छ ।
त्यसपछि बाराको जिल्ला अधिवेशन विवादमा तानिएको थियो । अधिवेशनकै दिन दुई पक्षबीच सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो । उक्त घटनापछि बाराका चारै जना प्रतिनिधिसभा सदस्यले अधिवेशन स्थल छाड्नुपरेको थियो ।
उनै स्वर्णकारमाथिको कारबाही फिर्ता गर्ने एजेन्डा गुप्ताले अघि सारेका हुन् ।शिव अधिकारी यदुवंशी/नेपाल प्रेस

