Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ

काठमाडौं,२०जेठ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । नयाँदिल्लीमा मंगलबार रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले नेपाल प्राथमिकतामा रहेको साझेदार मुलुक भएको बताएका हुन् ।

भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’

साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई स्वागत गर्दै पूर्ण रूपमा सहमत भएको उल्लेख गरेका छन् ।

भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारी थिए ।

मोदीसँगको भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए । साभार:ईकान्तिपुर

Related posts

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार

MadhesKhabar

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

MadhesKhabar

दिल्लीमा २७ वर्षपछि बिजेपीलाई बुहमत, आपले ४० सिट गुमाउँदा केजरिवाल पनि पराजित

MadhesKhabar

Leave a Comment