वीरगन्ज,१८जेठ:भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले उनीहरूलाई स्वदेश फिर्ता गराई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
गृह प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहार बृहत् आश्रय गृह, बाल गृह (बालिका) युनिट भैसाखाल सिवानमा आश्रित महोत्तरीकाे औरही नगरपालिका–२ घर बताउने १७ वर्षीया र बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ की १६ वर्षीया किशोरीलाई भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश र नेपाली दूतावास नयाँ दिल्लीको समन्वयमा वीरगन्ज ल्याइएको हो ।
दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाडेर भारत पुगेका थिए । महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा भारतको छपरा पुगेकी थिइन्। उनलाई धार्मिक स्थल दर्शन गराउने र राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन दिइएको थियो ।
त्यसैगरी बाराकी किशोरी गाउँकै साथीसँग भारत बिहारको छपरा पुगेकी थिइन् । होटलमा काम गरिरहेकै बेला बढी आम्दानी हुने भन्दै अर्की युवतीले विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरेपछि उनी त्यहाँ पुगेकी थिइन् । दुवै किशोरी भारतमा गैरकानुनी रुपमा सञ्चालन हुने नृत्य समूह ‘अर्केस्ट्रा’ सम्बन्धी गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए ।साभार:कान्तिपुर

