Madhes Khabar
राजनीति

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौं,१८जेठ: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्याह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहेका छन् ।

सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने भनिए पनि दुवै पक्षबाट आधिकारिक रूपमा भने यसको जानकारी गराइएको छैन । भारतीय सत्तारुढ दल भाजपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भने सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ ।

भाजपा अध्यक्ष नवीनकै निम्तोमा लामिछानेको भ्रमण हुन लागेको समेत विज्ञप्तिमा उल्लेख छ । आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा लामिछाने दिल्लीमा उच्चस्स्तरीय भेटवार्तामा सहभागी हुने उल्लेख छ ।

उच्चस्तरीय भेटवार्ताका लागि दिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको पनि झाले बताएका छन् । साथै व्यक्तिगत भ्रमणका रूपमा लामिछाने अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको छ । साथै दिल्लीमा प्रवासी नेपाली सम्पर्क, मञ्चको कार्यक्रममा समेत उनी सहभागी हुनेछन् । दिल्लीको लाजपतनगरस्थित लाजपत भवन अडिटोरियममा जेठ २१ गते दिउँसो ३ बजे लामिछानेको स्वागत कार्यक्रम राखिएको छ ।

लामिछानेको भारत भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।

Related posts

देशभर मतदान जारी

MadhesKhabar

प्रदीप यादवलाई समर्थन गर्दै वीरगन्ज–२१ का वडाध्यक्ष रौनियारसहितका जनप्रतिनिधि एमाले प्रवेश

MadhesKhabar

एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराएरै छाड्छौ : गगन थापा

MadhesKhabar

Leave a Comment