Madhes Khabar
मधेस प्रदेश राजनीति

सदनमा विश्वासको मत लिनबाट किन ब्याक भए मधेसका मुख्यमन्त्री यादव ?

जनकपुरधाम,१जेठ: शुक्रबार बिहान ११ बजे मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको लागि मधेश प्रदेशसभा बैठक डाकिएको थियो ।

जनमत पार्टीले २१ वैशाखमा समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन सरकारको सिफारिसमा प्रदेश प्रमुखले सातौं अधिवेशनको पहिलो बैठक आह्वान गरेका थिए । तर, बिहान ११ बजे बोलाइएको सदन अन्योल बन्यो । मुख्यमन्त्री यादव विश्वासको मत लिनबाट पछि हटे ।

यद्यपि, ३ बजेदेखि सातौं अधिवेशनको पहिलो बैठक बस्यो । तर, मुख्यमन्त्रीले विश्वासको मत लिएनन् ।

यसको मुख्य कारण हो, आफ्नै पार्टी नेपाली कांग्रेस भित्रपनि असन्तुष्टले फ्लोर क्रस गर्ने जोखिम । कांग्रेसका एक नेताका अनुसार सभापति गगन थापा र नेता डा. शेखर कोइराला पक्षका ७ जना प्रदेश सांसदले फ्लोर क्रस गर्ने जोखिम मुख्यमन्त्री यादवले देखेका थिए । त्यसपछि उनी विश्वासको मत नलिएर ब्याक हुने मनस्थिति बनाएका थिए ।

मुख्यमन्त्री यादव ब्याक हुनुको अर्को कारण सत्ता गठबन्धनमा खटपट पनि हो । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठकबाट विश्वासको मत दिने निर्णय नै गरेको थिएन । त्यसकारण उनले कार्यव्यवस्था परामर्श समितिमा विश्वासको मत लिने प्रस्ताव फिर्ता लिए ।

अब आगामी जेठ ८ गते विश्वासको मत लिने कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बताए । उता बैठक डाकेर मनोमानि ढंगले आफ्नै प्रस्ताव अन्तिम अवस्थामा फिर्ता लिएको भन्दै जनमत पार्टीले आपत्ति जनाएको छ ।

जनमतका सांसद सञ्जयकुमार यादवले ‘छापामार शैली’मा नियमावलीविपरीत कार्यसूची हेरफेर गरेको आरोप लगाए । उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । ‘हामीलाई ११ बजेबो बैठक बोलाउँछन् र १२ बजेको कार्यव्यवस्था समितिको बैठकमा थाहा हुन्छ– मुख्यमन्त्रीले आज विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुभयो,’ उनले भने, ‘प्रस्ताव फिर्ता लिने अधिकार त हुन्छ । तर मनोमानि प्रस्ताव फिर्ता लिन्छु भन्ने कुरा आज देखियो ।’

गठबन्धनभित्र सरकारको कार्यसम्पादनको भूमिकालाई लिएर चरम असन्तुष्टि छ । जुन सदनमै पनि देखियो । सत्तासाझेदार दल उपभोक्ता समितिमार्फत काम हुने योजनाको चिठ्ठी बिक्री वितरण भइरहेको भन्दै बेखुस छन् ।

नेपाल कम्यनिस्ट पार्टी (नेकपा)की प्रदेश सांसद बेची लुङ्गेलीले योजनाको चिठ्ठी खुलेयाम बिक्री भइरहेकोमा आरोप लगाइन् । ‘मन्त्रालयका योजनाको चिठ्ठी खुलेआम बिक्री भइरहेको छ । यदि यस्तै अवस्था रहने हो भने सरकारले आधिकारिक रूपमै कार्यालय खोलेर डाँक बढाबढमार्फत योजना बिक्री गरे हुन्छ,’ उनले भनिन् ।

जसपा नेपाल पनि चुनावकै बेलादेखि जसपा नेपाल मधेशकेन्द्रीत दलसँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिमा छ । उसकै कारण जनमत सरकारबाट बाहिरिसकेको छ । जनमत सरकारबाट समर्थन फिर्ता लिएकै भोलिपल्ट जसपा नेपाल पनि लिने तयारी गरेको थियो । नेतृत्वले तत्काल सरकार नछाड्न निर्देशन दिएपछि जसपा रोकियो । जसपा नेपाल अनुकूल समय पर्खिरहेको छ । सरकारबारे जसपाभित्र दुई धार छ ।

लोसपा नेपालसँगको एकताले अब जसपा नेपाल सदनको ठूलो दल बनेको छ । सोही कारण पनि अब आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज जसपाभित्र बलियो छ । दुई दलबीचको एकताले बुधबार कानुनी वैधता पनि पाइसकेको छ ।

लोसपा कानुनत: जसपामा गाँभिइसकेपनि संयुक्त बैठक भने बस्नसकेको छैन । ‘बैठक बसेर सरकारबारे निर्णय गरेर विश्वासको मत दिन ह्वीप लगाउन एकमत हुनुपर्छ । कानुनत: एक भएपनि बैठक नबस्दा यो निर्णय भएन’, जसपा नेपालका एक सांसदले भने ।

यही कारण सातौं अधिवेशनको पहिलो बैठकमा जसपा नेपाल र लोसपाबाट छुट्टाछुट्टै प्रतिनिधिले शुभकामना राखे । जसपा नेपालबाट पूर्वमुख्यमन्त्री लालबाबु राउतले मन्तव्य दिँदा लोसपाबाट रमिता प्रधानले भाषण गरिन् ।

संसद्को समीकरण

१०७ सदस्य मधेश प्रदेशसभामा अब २५ सांसदसहित जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालका १७ र लोसपाको ८ सांसद निर्वाचित थिए ।

यसअघि ठूलो दल रहेको नेकपा एमालेका २४ सांसद, कांग्रेसका २२ सांसद, नेकपाका १५ सांसद, जनमतका १२ सांसद, राप्रपा र संघीय समाजवादीका एक–एक सांसद छन् ।

उसो त वैशाख २७ गते नै सत्ता साझेदार कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपाबीच वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय भएको थियो । जसअनुरुप मुख्यमन्त्री यादवले यथाशीघ्र विश्वासको मत लिने भनिएको थियो ।

तर, शुक्रबारसम्म आइपुग्दा स्थिति केही खलबलिएको मुख्यमन्त्री यादवले महशुस गरेका हुन् । यद्यपि सत्तारूढ कुनै पनि दलले वर्तमान सरकारको विकल्पमा जाने निर्णय गरिसकेका छैनन् ।

‘जसपा नेपालले अहिले वर्तमान सरकारलाई नै निरन्तरता दिन्छ । सहयोग गर्छ’, जसपा नेता पूर्वमुख्यमन्त्री लालबाबु राउतले पत्रकारसँग भनेका छन् । आज मुख्यमन्त्री यादवलाई सहज अनुभव नभएकाले अर्को दिन विश्वासको मत लिने निर्णयमा पुगेको उनको भनाइ छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने मिति सार्नुमा पार्टी केन्द्रको निर्णय पर्खिएको हुनसक्ने अनुमान पनि गरिएको छ । कांग्रेस, एमाले र नेकपाबीच सातै प्रदेशमा समीकरण गरेर जाने कुरा शीर्ष तहमा चलिरहेको नेकपाका एक सांसदले बताए ।

मधेशमा फरक समीकरण भएपनि अन्य छ प्रदेशमा भने कांग्रेस–एमालेको गठबन्धनमा सरकार छ । अहिले ती सरकारमा नेकपा पनि मिलाएर सरकारहरू हेरफेर गर्नेगरी छलफल भइरहेको स्रोत बताउँछ।शैलेन्द्र महत्ताे/अनलाइनखबर

Related posts

पर्सामा जसपा नेपालका नेताहरुले धमाधम पार्टी छाड्दै , जिल्ला सह–इन्चार्ज यादवपनि जसपामा प्रवेश

MadhesKhabar

जनमत पार्टीले वीरगन्जमा मंसिर १० गते रंगभेदविरुद्ध बृहत र्‍याली निकाल्ने

MadhesKhabar

पर्सा–२ का जसपा नेपालका उम्मेदवार टेमानीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कपडा वितरण

MadhesKhabar

Leave a Comment