Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज चिनी कारखानाको ‘हत्या’ गरिएको हो, हत्याराहरू बजारमै घुमिरहेका छन् : रहबर अन्सारी

काठमाडौं,२२ वैशाखः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगन्ज चिनी कारखानाको योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको बताएका छन् ।

मंगलबार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै उनले वीरगन्ज चिनी कारखाना बन्द हुनुमा चलखेल रहेको दाबी गरे ।सभापति अन्सारीले वीरगन्ज चिनी कारखानालाई कसैले सिध्याएको टिप्पणी गरे । ‘कारखानाको हत्या भएको हो, यसका हत्याराहरू बजारमै घुमिरहेका छन्,’ उनले भने ।

कारखाना बन्द हुँदा कर्मचारी र किसान पीडित भएको तर निजी चिनी कारखाना खोलेर बस्नेहरू भने मोटाउँदै गएको उनले बताए । हत्यारा पत्ता लगाएर पीडितलाई न्याय दिनुपर्ने उनको माग थियो ।

चिनी उद्योगमा ‘इकोनोमिक्स’ भन्दा बढी ‘पोलिटिक्स’ हुने गरेको अन्सारीले उल्लेख गरे । उद्योगीले व्यापारीबाट अग्रिम पैसा लिने तर किसानलाई भने उधारोमा उखु दिन बाध्य पार्ने गरेको भन्दै उनले यसको समाधान खोज्न आग्रह गरे। नेपालमा चिनीको उत्पादन कम र गुणस्तर पनि कमजोर रहेको उनले बताए ।

औद्योगिक प्रदूषणका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको अन्सारीले जानकारी दिए। आफ्नो क्षेत्रमा धेरै मानिस क्यान्सर र स्ट्रोकको शिकार भएको उनले बताए । ‘बिहान ४ देखि ६ बजेको बिचमा हावाको रङ्ग कालो हुन्छ, यसलाई सफा बनाउन मन्त्रालयले पहल गर्नुपर्छ,’ उनले भने ।

कतिपय उद्योगले सार्वजनिक जग्गा र खोला समेत मिचेर संरचना बनाएको भन्दै उनले आपत्ति जनाए। स्थानीय प्रशासन र प्रहरीले यस्ता विषयमा प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो । उद्योग मन्त्रालयले टिम खटाएरै अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने उनले बताए ।

यस्तै उनले भन्सार नाकाहरूमा हुने ढिलासुस्ती र कर्मचारीको ‘तजबिज’ अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । मुख्य नाकाहरूमा एक्सरे स्क्यानर राखेर छिटो चेकजाँच गर्ने व्यवस्था मिलाउन उनले सुझाव दिए। यसो गर्दा चोरी पैठारी रोकिने र व्यापारीले अनाहकमा सास्ती खेप्नु नपर्नेमा उनले जोड दिए ।

सभापति अन्सारीले यी समस्याहरू समाधान गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र समितिले पनि यसमा सहयोग गर्ने बताए।

Related posts

खाना पकाउने एलपी ग्याँसकाे मुल्य सिलिन्डरमा १३० रुपैयाँ घट्याे

MadhesKhabar

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

MadhesKhabar

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो (मूल्यसुची सहित)

MadhesKhabar

Leave a Comment