मधेसखबर,वीरगन्ज १८: सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश दर्ता भइसकेको छ र अहिले अध्ययनको प्रक्रियामा रहेको छ ।
उनले सरकारले पठाएका विभिन्न अध्यादेशमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि प्रारम्भिक अध्ययन र कानुनी परीक्षणकै क्रममा रहेको बताएका छन् ।
सरकारले हालसम्म कुल ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । तीमध्ये सहकारी तथा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश भने जारी भइसकेका छन् । बाँकी ६ वटा अध्यादेशमाथि आवश्यक अध्ययन, छलफल र परामर्श भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबीच, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित केही महत्वपूर्ण विषयमा राष्ट्रपति ले बिहीबार कानुनविद्हरूसँग छलफल गरेका थिए । छलफलमा अध्यादेशका संवैधानिक र कानुनी पक्षबारे राय–सुझाव लिइएको बताइएको छ ।


