प्रमोद यादव
पर्सा,२ वैशाख :पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ स्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल दुधेश्वरनाथ महादेव मन्दिर (रामभौरी भाठा धाम) मा नयाँ वर्ष २०८३ को सुरुवातसँगै भव्य मेला सुरु भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख १ गतेदेखि ३ गतेसम्म चल्ने यस मेलामा नेपाल र भारतका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरू पुग्ने क्रम जारी छ।
भाठा धाममा वर्षको तीन पटक अर्थात वैशाख त्रयोदशी तिथि, माघको श्रीपञ्चमी र साउन महिनाभर विशेष मेला लाग्ने गर्दछ।
आफ्नो मनोकामना र भाकल पूरा भएका भक्तजनहरूले मन्दिर परिसरका करिब २० स्थानमा मंगलबारदेखि नै अष्टजाम र भजनकीर्तन वाचन गरिरहेका छन्।बिहीसम्म चल्ने यी धार्मिक अनुष्ठानले गर्दा भाठा धाम क्षेत्र यतिबेला भक्तिमय बनेको छ।
रंगपुर टाँडी बजारबाट करिब १४ किलोमिटर जङ्गल मार्ग र कच्ची ग्रेभल बाटो पार गरेपछि दुधेश्वरनाथ महादेव मन्दिर पुगिन्छ। राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको यात्रा दर्शनार्थीका लागि निकै उत्साहजनक हुने गर्छ। बाटोमा हरिण, बँदेल, मयुर, हात्ती, बाँदर, घोडा, निलगाई, बाघ, र भालुजस्ता वन्यजन्तु र विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।
मन्दिरको इतिहास र विकास
करिब १०० वर्षभन्दा पुरानो इतिहास बोकेको भाठा धामस्थित दुग्धेश्वरनाथ महादेवको मन्दिरको सुरुवात एउटा सानो खरको झुपडीबाट भएको थियो। ढुङ्गालाई दुधेश्वरनाथ महादेव मानेर पूजा गर्ने क्रममा केही अद्भुत चमत्कार देखिएपछि यस क्षेत्रको धार्मिक महत्व चुलिएको स्थानीयहरु बताउँछन्।
विगतको तुलनामा अहिले भाठा धामको पूर्वाधारमा निकै परिवर्तन आएको छ। गौत्री भलुवाई नदीमा स्नान गरी करिब डेढ किलोमिटर पैदल यात्रा र ३०० भन्दा बढी सिँढी चढेपछि पहाडको टुप्पोमा रहेको मन्दिर पुगिन्छ। हाल पहाडको टुप्पोमा शिव महादेव र माता पार्वतीको भव्य पक्की मन्दिर निर्माण गरिएको छ। दर्शनार्थीका लागि ठूलो धर्मशाला, अस्थायी शौचालय र पाइपमार्फत खानेपानीको व्यवस्था समेत मिलाइएको छ।
पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले दिएको जानकारी अनुसार मेलाको पहिलो दिन मंगलबार मात्रै करिब ८०० मोटरसाइकल, ८० वटा ट्याक्टर, १०० वटा ट्याक्सी÷अटो र १०० वटा स्कार्पियो÷टाटा समूहका सवारी साधन मन्दिर क्षेत्रमा प्रवेश गरेका छन्। समग्रमा करिब १० हजारको हाराहारीमा भक्तजनहरूले मन्दिरको भ्रमण गरेको आकलन गरिएको छ।
भारतको रक्सौल, मैनाटार, बेतिया, अरेराज र नेपालको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी तथा चितवन जिल्लाबाट दर्शनार्थीहरूको ठूलो ओइरो लागेको छ।
मेला समिति सदस्य शम्भु यादवले भने,“हामीले भक्तजनहरूको सुविधाका लागि सक्दो प्रयास गरिरहेका छौँ। हजारौँको संख्यामा आउने श्रद्धालुहरूलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण त छ, तर यहाँको धार्मिक शक्तिले सबैलाई उत्साहित बनाएको छ। भाठा धामको विकासका लागि हामी निरन्तर लागिपरेका छौँ, तर अझै धेरै काम गर्न बाँकी छ।“
स्थानीय सञ्चारकर्मी चिरञ्जीवी यादवले वर्षमा तीन पटक मात्र मेला लगाएर मात्र भाठा धामको पूर्ण विकास नहुने बताए । यदि बाह्रै महिना मेला लाग्ने वातावरण बनाउन सके यहाँ रोजगारी सिर्जना हुने र धार्मिक पर्यटनमा ठूलो सुधार आउने उनको धारणा छ ।

