काठमाडौं,२६चैत:ललितपुरको पाटन दरबार स्क्वायरमा बुधबार अपरान्ह छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।
हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।
त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए। जहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरे।
गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारका क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको हो। घटना घटेको केही मिनेटमै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

