वीरगन्ज,२५चैतःपर्साका नेकपा एमालेका नेताहरुले पार्टी अध्यक्ष केपी ओलीलाई अहिलेको सरकारले प्रतिशोधा राखेर पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
फागुन २१ को निर्वाचनको नतिजाको समीक्षा गर्न बुधबार वीरगन्जमा आयोजित जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा बोल्ने एमालेका नेताहरुले पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई अहिलेको सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेरकाले तत्काल रिहा गर्न माग गरेका हनु ।
अहिलेको सरकार गठन भएदेखि नै एमाले र कांग्रेसमाथि प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाउँदै उनिहरुले जेनजी आन्दोलनको छानबिन गर्न गठिन गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन नै अुधरो र एकपक्षीय रहेको बताए ।
सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरी पार्टी अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरूले आपत्ति जनाए।
फरक प्रसंगमा जिल्लाका एमाले नेताहरुले पार्टी संगठनभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने, नेतृत्वको निर्देशन र निर्णयअनुसार पार्टी संगठन पंक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।
एमाले पर्साका नेता तथा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डेयले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। पार्टी निर्देशन नमान्ने नेतामाथि कारबाही नगरेसम्म विकृति हट्न नसक्ने उनको भनाइ थियो। उनले पार्टीले आयोजना गर्ने हरेक आन्दोलनमा टिकट लिएर चुनाव लडेका नेता, निर्वाचित मेयर तथा वडा अध्यक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि राखे।
एमालेका जिल्ला कमिटी अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार जालिम मियाँ, प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी,जिल्ला सचिव महेश दास, पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहान ,पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक ,बहुदरमाई नगरपालिका मेयर सिघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा, नेताहरु शिवजी गुप्ता, बिना शर्मा, शिव पटेल, सुन्दर कुर्मी लगायतकाको पनि सहभागिता थियो ।

