Madhes Khabar
राजनीति

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्दै

काठमाडौं,१३चैत: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।

को हुन् सुधन

सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।

काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए ।

विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।

‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’

घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्‍यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।

सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए ।

तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । २३ भदौमा युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला हुँदा गुरुङले आफूलाई स्वयमसेवकको रूमा चिनाएका थिए ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो ।

गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो ।

उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए ।

सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।साभार:अनलाइनखबर

Related posts

जसपा नेपाल पर्साका सह–ईन्चार्ज दीपक यादवले दिए राजिनामा

MadhesKhabar

बारा–४ मा रास्वपाका रहबर अन्सारीको अग्रता दाबी, परिवर्तनको पक्षमा जनमत रहेको भनाइ

MadhesKhabar

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

MadhesKhabar

Leave a Comment