
वीरगन्ज ,९ चैत : चैती छठ पर्वको दोस्रो दिन आज (साेमबार)खरना विधि गरिँदैछ। चैती छठ पर्व विधिवत रुपमा हिजाे(आइतबार)बाट सुरु भएको हो।
चैत शुक्लपक्षमा चारदिनसम्म मनाइने चैती छठ पर्वका लागि यतिखेर पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन् ।
चैती छठ पर्वको पहिलो दिन हिजाे व्रतालुहरुले नहायखाय विधि सम्पन्न गरेका थिए।चैत महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन हिजाे बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन व्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।
चैत शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। रसियाव-राेटी अर्थात खरनाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।
त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन्।
छठ पर्व कार्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाइन्छ।

