प्रमोद यादव
पर्सा,६चैत :पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित दिपनारायण आदर्श माध्यमिक विद्यालय पचगावाँमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास बैंक शाखा कार्यालय सखुवा प्रसौनीको आयोजनामा ‘ग्लोबल मनी विक’ को अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो।
वित्तीय चेतनामूलक नाराहरू लेखिएका प्लेकार्डसहित निकालिएको प्रभातफेरी पचगावाँ, औराहा र श्रीपुर बजारको परिक्रमा गरी कृषि विकास बैंकको शाखा कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा कृषि विकास बैंक मधेस प्रदेश क्षेत्रीय कार्यालयका निर्देशक अर्जुन ढुंगानाले पैसाको सही सदुपयोग र सुरक्षाका विषयमा विशेष जोड दिए । उनले भने ,“बैंक भनेको पैसा सुरक्षित राख्ने मात्र नभई यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने माध्यम पनि हो। ग्रामीण क्षेत्रमा बैंकको पहुँच विस्तार भएसँगै सेवाग्राहीहरू जोडिने क्रम बढेको छ। ‘स्मार्ट मनी टल्क्स’ को मर्म अनुरूप सबैले बैंकसँग जोडिएर सही सदुपयोग गर्न आवश्यक छ।”
त्यस्तै, क्षेत्रीय शाखा प्रमुख विजय गौतमले सकली र नकली पैसा कसरी चिन्ने भने विषयमा जानकारी गराएका थिए भने कार्यक्रममा दिपनारायण माविका प्रधानाध्यापक शिवनाथ प्रसाद थारु र नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादवले पनि वित्तीय साक्षरताको महत्वबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा दिपनारायण आदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूका साथै सूचना प्रविधि मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शाखा प्रबन्धक त्रिबेदी कुमार शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा अभिनाष ठाकुर, सोनि प्रीया महर्जन, किशोर लाल बछार, रामनिवास साह कानु लगायत बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

