Madhes Khabar
समाचार हेडलाइन

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

 
वीरगन्ज, १७ फागुनः यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पर्सा जिल्ला प्रशासनले सुरक्षा व्यवस्था र अनुगमनमा कडाइ गरेको छ।
जिल्ला निर्वाचन कार्यालय पर्साद्वारा आयोजित “निर्वाचन र आमसञ्चार“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि तत्काल कानुनी दायरामा ल्याइने बताएका छन् ।
अनुगमनका क्रममा केही राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि भारतीय सवारी साधन प्रयोग गरेको पाइएकाले त्यस्ता सवारीलाई तत्काल हटाउन लगाई चेतावनी समेत दिइएको प्रजिअ दाहालले जानकारी दिए ।
निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारले विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ।
मौन अवधिमा हुन सक्ने राजनीतिक चलखेल, भोजभतेर तथा प्रचारप्रसार जस्ता गैरकानुनी गतिविधि रोक्न प्रशासनले विशेष योजना बनाएको प्रजिअ दाहालले उतm कार्यक्रमामा जानकारी दिएका छन् ।
“साँझ ६ बजेदेखि राति १२ बजेसम्म संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय भएको छ,“ उनले भने । कतै आचारसंहिता विपरीतका कार्य भएको पाइएमा वा खबर प्राप्त भएमा सुरक्षा निकायले तत्काल एक्सन लिने उनको भनाई छ ।
प्रजिअ दाहालले स्थानीय प्रशासनबाट समाधान हुन सक्ने विषयहरू स्थानीय प्रशासन कार्यालयबाटै टुङ्ग्याइने र जटिल वा तत्काल समाधान हुन नसक्ने विषयहरूलाई थप कारबाहीका लागि निर्वाचन आयोगमा पठाइने स्पष्ट पारे ।
साथै, सञ्चारकर्मीहरूलाई निर्वाचनको रिपोर्टिङका लागि आवश्यक ’प्रेस पास’ को सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीसँग सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।
अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय पर्साको जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियाद्वारा प्रस्तुत गरीएको तथ्याङ्क अनुसार पर्साका ४ वटा निर्वाचन क्षेत्रमा कूल ३,७६,५१३ मतदाता रहेका छन् । पुरुषः २,१२,०७७  जना रहेका छन् भने महिला १,६४,४२१ रहेका छन् । त्यस्तै अन्य १५ जना रहेको कार्यालयले जनाएको छ ।
पर्साका ४ निर्वाचन क्षेत्रमा गरी १६७  मतदान स्थल र ४४१ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।यसैगरी, जिल्लाभर कूल १०७ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४६ जना स्वतन्त्र र ६१ जना विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्छन्। निर्वाचनलाई लक्षित गरी कारागार कार्यालय र जिल्ला हुलाक कार्यालय पर्सामा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ। १०९० जना अस्थायी मतदाताहरूका लागि कारागार र हुलाक कार्यालयमा विशेष मतदान केन्द्र तोकिएको पनि रौनियारले जानकारी दिईन् ।

Related posts

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

मधेस प्रदेश सरकारमा कांग्रेस ‘इन’ , माओवादी ‘आउट’

MadhesKhabar

ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

MadhesKhabar

Leave a Comment