वीरगञ्ज, ३ फागुन:वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले सो अवधिमा एक खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि लक्ष्यको ८८.०७ प्रतिशत मात्र सङ्कलन गर्न सफल भएको जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा राजस्व सङ्कलन समग्र रूपमा उत्साहजनक रहेको छ । महिनागत विवरणअनुसार कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, र असोजमा १९ अर्ब ९ करोड राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड राजस्व उठाइएको छ ।माघ महिनामा कार्यालयले २१ अर्ब २९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि १८ अर्ब ९० करोड रुपैयाँ मात्र उठाउन सकेको छ ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
लक्ष्यअनुसार राजस्व सङ्कलन अघि बढिरहेको भए पनि केही महिनामा लक्ष्यभन्दा कम उठेकाले बाँकी अवधिमा लक्ष्य पूरा गर्न थप प्रयास आवश्यक देखिएको छ ।

