
वीरगन्ज २८,माघ :पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न जनमत पार्टीलाई विजयी गराउनुपर्ने बताएका छन्।
माघ २८ गते वीरगन्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत इटियाही र प्रसौनी क्षेत्रमा आयोजित घरदैलो, भेटघाट तथा संवाद कार्यक्रममा बोल्दै सरार्फले सयौं शहीदको बलिदानबाट प्राप्त संघीयता, समावेशिता र मधेसको स्वाभिमान जोगाउन जनमत पार्टीको जित अनिवार्य रहेको उल्लेख गरे।
उनले संघीयता तथा मधेस विरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसी समुदायको समग्र उत्थानका लागि सबैलाई एकजुट हुन आह्वान गरे। “देश र मधेसको निकासको स्पष्ट दृष्टिकोण जनमत पार्टी र डा. सिके राउतसँग मात्र छ,” सरार्फले भने, “त्यसैले हर्न छापमा मतदान गरी जनमत पार्टीलाई बलियो बनाउनुपर्छ।”
कार्यक्रममा जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी हुनेहरूमा विध्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार, समानुपातिक उम्मेदवार विजय पासवान, भुपेन्द्र साह, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायत रहेका थिए।
घरदैलो अभियानमार्फत स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार सरार्फले मधेसको अधिकार, पहिचान र विकासका लागि जनमत पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरेका छन्।


