वीरगन्ज २४,माघ :पर्सा जिल्लामा HPV (Human Papilloma Virus) विरुद्धको खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण तथा पैरवी बैठक सम्पन्न भएको छ।
विद्यालय तहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिने HPV खोप अभियानलाई सफल बनाउन आवश्यक रणनीति, समन्वय र कार्ययोजना बारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले पाठेघरको मुखको क्यान्सर रोकथाममा HPV खोप अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै लक्षित समूहमा खोप पहुँच सुनिश्चित गर्न सबै निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

बैठकमा जिल्लाभित्रका स्थानीय तहअनुसार लक्षित समूहको विवरण प्रस्तुत गर्दै खोप अभियानलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य कार्यालयले आगामी दिनमा विद्यालय तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै HPV खोप कार्यक्रमलाई व्यापक बनाइने जनाएको छ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय टीकाकरण कार्यक्रमले सञ्चालन गरेको एचपीवी (ह्युमन पेपिलोमा भाइरस) खोप अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा गत वर्ष छुटेका ९,७३२ जना किशोरीहरूलाई लक्षित गरी खोपीकरण दिइने छ।
कार्यक्रमको लागि ठोरी गाउँपालिकादेखि कालिकामाई गाउँपालिकासम्म १४ स्थानीय तहमा लक्षित समूहलाई नियमित खोप दिइने छ। तालिका अनुसार कक्षा ६ का ७,०९९ जना छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका २,६३३ जना किशोरीसम्म खोप पुग्ने छ। यसरी जम्मा ९,७३२ जनाले खोपको पहिलो खोप प्राप्त गर्नेछन् ।
यो अभियान पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) रोकथामको लागि संचालन गरिएको हो, जुन मुख्यतया HPV १६ र १८ प्रजातिको भाइरसले गर्दा हुने गर्दछ। विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको ‘सिकोलिन’ नामक खोप नेपालमा प्रयोग भइरहेको छ, जुन ९८-१०० प्रतिशतसम्म प्रभावकारी रहेको छ।

अभियान सञ्चालनको लागि सङ्घीय तहबाट प्रदेश र स्थानीय तहमा बजेट विभिन्नोजन गरिएको थियो। आगामी आर्थिक वर्षदेखि स्थानीय तहले आफ्नै बजेटबाट यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ।
खोप केन्द्र सञ्चालनको बारेमा २७२ वटा नियमित बाह्य तथा संस्थागत खोप केन्द्र र २३० वटा विद्यालयमा आधारित खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन जयमोद ठाकुर जनाएका छन् । लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १०-१४ वर्षका किशोरी, र गत वर्ष खोप लगाउन छुट्टिएका ११-१४ वर्षका किशोरीहरू समावेश हुनेछन्।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु भइरहेको छ। महिलालाई क्यान्सरबाट मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो। यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणबाट हुन्छ। यो भाइरसलाई एचपीभी भाइरस भनिन्छ।
एचपीभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाट पटक-पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ।
खोप अभियान भोलि माघ २५ गतेदेखि फाल्गुन २ गते सम्म सन्चालन हुने स्वास्थ्य कार्यालय पर्साका प्रमुख निलारम्ब अधिकारीले जानकारी दिए ।
जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष निरन्जन प्रसाद साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल ,बिरगंज महानगरपालिकाक स्वास्थ्य शाखा प्रमुख राजु साह,स्वास्थ्यकर्मी रामबाबू यादव कार्यालय, शिक्षा शाखा, स्थानीय तहका प्रतिनिधि ,सन्चारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

भोलि बिरगंजको १६ वटा बिद्यालयबाट एक साथ यो खोप अभियानको सुरुवात हुने स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत एवम् खोप कार्यक्रमका फोकल पर्सन ठाकुरले जानकारी दिएका छन् ।यो अभियानलाई सफल पार्न उनले सबै सरोकारवालाहरुलाइ आग्रह पनि गरेका छन् ।

