वीरगन्ज, २२ माघः पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहीबार नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त भेलामा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेको संगठनात्मक मजबुती र चुनावी रणनीतिका बारेमा छलफल गरिएको थियो ।
भेलामा सहभागी स्थानीय नेता–कार्यकर्ताले पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए।
भेलामा बोल्दै केन्द्रिय सदस्य प्रभु हजराले देशमा राजनीतिक स्थायित्व, सुशासन र दिगो विकासका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताए । उनले पर्सा–३ मा परिवर्तनको भरोसायोग्य आधार बनेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे पार्टीका मात्र नभई आम जनताको आशा र विश्वासको प्रतिनिधि भएको उल्लेख गरे ।
भेलालाई सम्बोधन गर्दै पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विद्यमान समस्या, जनताको पीडा र विकासका अवरोधहरूलाई स्पष्ट रूपमा औंल्याउँदै समाधानमुखी र व्यवहारिक भिजन प्रस्तुत गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासनलाई आफ्नो प्राथमिकतामा राख्दै उनले “अब पर्सा–३ लाई भाषण होइन, प्रत्यक्ष परिणाम चाहिएको छ” भन्ने सन्देश दिए।
नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यतामा भेलामा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवंत यादव, एमाले नेतृ फुलमती चौधरी, बासुदेव थारू लगायतको उपस्थिति रहेको थियो।

