वीरगन्ज,१२माघ:पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले वीरगन्ज महानगरपालिका–२४ बहुवरीमा स्थानीय युवाहरूसँग भेटघाट गरेका छन् ।
भेटघाट कार्यक्रममा विभिन्न पृष्ठभूमिबाट आएका युवाहरू स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै चुनावी अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाहरू नै देश परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गरे । उनले भने, “पुरानो राजनीति र निराशाबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिनु भएको छ । यो परिवर्तनको सङ्केत हो । हामी युवासँगै नयाँ राजनीतिक संस्कार स्थापित गर्नेछौँ ।” कानुले जिल्लाभर युवाहरूको समर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै परिवर्तन रास्वपा बाटै सम्भव हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी स्थानीय युवा विकाश कुशवाहले यसअघि आफूहरूले धेरै नेताहरूलाई देखि सकेको बताए, तर रास्वपाले परिवर्तन गर्ने आफूहरूको बुझाइ छ । “हामीले धेरै नेताहरू देख्यौँ, तर काम देखेनौँ । अब युवाले नेतृत्व खोजेको हो, र त्यो विकल्प रास्वपामा देखेका छौँ,” उनले भने । सफा राजनीति र जबाफदेही नेतृत्वका लागि वीरगन्ज – २४ का अधिकांश युवाहरूले घण्टी छापमा मतदान गर्ने निर्णय गरेको पनि उनले बताए ।
भेटघाटको अन्त्यमा कानुले कार्यक्रममा सहभागी सबै युवाहरूलाई पार्टीमा स्वागत गर्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।

