वीरगन्ज,११ माघ :नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको अध्यक्षमा पुनः डाक्टर मनोज कुमार गुप्ता निर्वाचित भएका छन् ।वीरगन्जमा शनिबार भएको निर्वाचनको आइतबार बिहान घोषित मतपरिणाम अनुसार, अध्यक्षमा डा. गुप्ता फराकिलो मतान्तरका साथ विजयी भएका हुन् । गुप्ता २५९ मतका साथ अध्यक्षमा विजयी हुदाँ उनका प्रतिस्पर्धि डा. राजदेव कुशवाहाले भने १५७ मात्रै प्राप्त गरे ।अध्यक्षमा निर्वाचित डा. गुप्ता यसअघिपनि संघको अध्यक्ष थिए ।
यस्तै बरिष्ठ उपाध्यक्षमा भने कुशवाहा प्यानलका डा. पशुपतिनाथ भट्ट २४९ मतका साथ विजयी हुदाँ उनका प्रतिस्पर्धि गुप्ता प्यानलकी डा. तरन्नुम खातुनले १५८ मत मात्रै प्राप्त गरिन् ।यसैगरि उपाध्यक्षमा गुप्ता पक्षका डाक्टर रामकिशोर सिंह ,सचिवमा कुशवाहा प्यानलका डा. विकास साह,सहसचिवमा गुप्ता प्यानलका डा. अजयकुमार यादव, कोषाध्यक्षमा कुशवाहा प्यानलका डा. रामाशंकर गुप्ता र सहकोषाध्यक्षमा गुप्ता प्यानलका डा. विवेक यादव निर्वाचित भएका छन् । सदस्यहरुमा डा. सुप्रिता गुप्ता,डा.रामप्रकाश ठाकुर, डा. दीपक चौरसिया,डा. आदित्यप्रकाश यादव, डा. विशाल साह र डा. विनिता सिंह निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि वीरगन्जमा शनिबार भएको निर्वाचनमा कुल ७६६ मतदाता रहेकोमा ४२० मत खसेको थियो । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत डाक्टहरु आबद्ध छन् ।

