Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी युवाहरुले सिर्सिया नदीको फोहोर पानीको बोत्तल वीरगन्ज उद्योग वाणिज्य संघको गेटमा झुण्ड्याए

वीरगन्ज,२६पुसःवीरगन्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउने अभियान थालेका जेनजी पुस्ताका युवाहरुले शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको मूल प्रवेशद्वार (गेटमा ) नदीको फोहोर पानी भरिएको बोत्तल झुण्ड्याइ दिएका छन् ।

यसअघि ७२ घण्टाको अल्टिमेटम दिएका उनिहरुले शनिबार१० वटा बोत्तलमा नदीको फोहोर पानी भरेर ती बोत्तलहरु संघको मेन गेटमा लगेर झुण्ड्याइ दिएका हुन् ।

सिर्सिया नदी बचाउ अभियान समितिमा आबद्ध युवाहरुले यसअघि पुस ९ गते संघका अध्यक्ष हरि गौतमलाई नै भेटेर नदीमा प्रदुषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।

तर संघले नदी फोहोर गर्ने उद्योगहरुलाई कारबाही गर्न चासो नै नदेखाएपछि शनिबार आँफुहरुले सिर्सिया नदीको फोहोर पानी भरिएको १० वटा बोत्तल संघको मूल गेटमा लगेर झुण्ड्याइ दिएको अभियानका अगुवा किसु सर्राफले बताए ।

सर्राफका अनुसार, पुस ९ मा ज्ञापनपत्र बुझाउनने क्रममा संघका अध्यक्ष गौतमले नदीको पानी फोहोर नरहेको, पानी मुनिको माटो नै फोहोर भएका कारण सतहको पानी कालो देखिएको भन्दै जवाफ दिएका थिए ।

शनिबार संघको कार्यालयमा पुग्दा अध्यक्ष गौतम नभेटिएपछि टेलिफोनमा पनि कुरा गर्दा उनले उद्येगहरुलाई कारबाही गर्ने अधिकार संघलाई नरहेको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको सर्राफले बताए ।सर्राफले अबको एक हप्ताभित्रपनि नदी प्रदुषित गरिरहेका उद्योगहरुलाई कारबाही गर्न संघले पहल नगरे आँफुहरुले नदीको फोहोर पानी ड्रममा ल्याएर संघको कार्यालय परिसरमै खन्याइदिने चेतावनीसमेत दिए ।

करिब तीन दशकदेखि अतिक्रण र प्रदुषणका चपेटामा परिरहेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन यसअघि वीरगन्ज महानगरपालिका लगायतका विभिन्न संघसंस्थालले प्रयास गरेका थिए । तर ती प्रयास सफल नभएपछि पुस ५ गतेदेखि वीरगन्जका जेनजी पुस्ताका युवाहरु स्वतस्फूर्त रुपमा संगठीत भई दबाबमुलक अभियान सञ्चालन गर्दै आइरहेका छन् । अभियानको पहिलो दिनमै पुस ५ गते उनिहरुले नदीको फोहोर पानी बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए ।

त्यसपछि पुस ९ गते उनिहरुले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमलाई ७२ घण्टाको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका थिए । त्यसबीचमा उनिहरुले पर्साकी निवर्तमान प्रतिनिधि सभा सदस्य विना कुर्मी जयसवाललाई पनि भेटेर नदीको फोहोर पानी उपहार भन्दै दिएका थिए ।

वीरगन्ज शहरको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी पर्सा–बारामा रहेका उद्योगहरुका कारण करिब तीन दशकदेखि प्रदुषित छ । पर्सा–बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुले वर्षौदेखि नदीमा औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा विसर्जन गर्दै आएका छन् ।

Related posts

वीरगन्जकाे विकास र समृद्धिका लागि युवाकाे साथ र सहयाेग चाहेकाे छु: मेयर सिंह

MadhesKhabar

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो

MadhesKhabar

Leave a Comment