जनकपुर,१६पुसःमधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्री पदको शपथग्रहणपछि आयोजित कर्मचारीहरूसंगको परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले मातहतका कर्मचारीलाई भाषणभन्दा पनि काममा केन्द्रित हुन निर्देशन दिए । “किसानलाई धेरै समस्या छन् । मलखाद्य, सिँचाइलगायतका समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ,” मन्त्री पटेलले भने, “म भाषण होइन, काम मन पराउँछु । त्यसैले मधेस प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्नुपर्छ ।”
झारा टार्ने हिसाबले गरिने काम आफूलाई मन नपर्ने भन्दै मन्त्री पटेलले मधेस प्रदेश कृषिमै आश्रित प्रदेश भएकाले कसैले पनि लापरवाही नगर्न चेतावनी दिए । किसानका समस्या सहज रूपमा समाधान हुने गरी दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे ।साभारः रातोपाटी

