वीरगन्ज,१६पुसः वीरगन्जबाट प्रहरीले श्रोत खुल्न नसकेको ६ लाख ७१ हजार बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्लाको मथौली घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा बस्ने ५० वर्षीय अनवर मियाँ, छपकैयाकै २२ वर्षीय महमद कैफ अहमद र भारतको बिहार राज्यको मोतिहारी जिलको गम्हरियाकलाका ४८ वर्षीय फूल महमद रहेका छन् ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको मकालु होटल चोकबाट तीनै जनालाई ६ लाख ७१ हजार ९५० रुपैयाँसहित पक्राउ गरिएको हो ।
बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको प्रहरीले जनाएका छन्। पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

