वीरगन्ज,१२पुसःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मनिहर्वा चोकबाट शनिबार सशस्त्र प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
हुलाकी सडकखण्डमा पर्ने मनिहर्वा चोकमा शनिबार सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साकै पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर ५ सबैठवाका ४३ वर्षीय रबिन्द्र महतो र भारतको बिहार राज्यको बेतिया जिल्लाको झुक घर भएका ३७ वर्षीय अशोक महतो रहेका छन् ।
मनिहर्वा चोकमा रबिन्द्र सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले खानतलाशी गर्दा उक्त मोटरसाइकलको डिक्कीभित्रबाट ५ किलोग्राम गाँजा बरामद भएको हो । त्यस्तै अशोक सवार रहेको बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ४ किलो ३०० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
गाँजा भेटिएपछि दुवै मोटरसाइकलसहित त्यसका चालकद्वय रबिन्द्र र अशोकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको योञ्जनले जानकारी दिए ।

