वीरगन्ज,१०पुसःनेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा अन्तत युवा नेता राकेश यादवको नाम सिफारिस गरेको छ ।
यसअघि क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले यादवको नाम हटाएर पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादव गरी तीन जनाको नाम मात्रै सिफारिस गरेपछि युवा नेता यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेटेर उम्मेदवारी सिफारिसका लागि निवेदन दिएका थिए ।
त्यहि निवेदनका आधारमा प्रदेश सभापति यादवले पर्सा–२ को प्रत्यक्षतर्फका उम्मेदवारका लागि युवा नेता यादवको पनि नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरेका हुन् । पुस ८ गते नै प्रदेश सभापति यादवले क्षेत्र र जिल्लाबाट छुट हुन गएकाले यादवको नाम प्रदेश समितिले सिफारिस गरेको बताएका छन् ।
प्रदेश कार्यसमितिले गरे सिफारिस पत्र केन्द्रिय कार्यलायमा पुगेर दर्तासमेत गराईसकेको युवा नेता यादवले जानकारी दिए ।
उनले क्षेत्र र जिल्लाबाट पुराना नेताहरुको दबाबमा आफ्नो नाम काटिएपनि प्रदेश कार्यसमितिमा आँफुले निवेदन दिएको र प्रदेश सभापति यादवले पार्टीको विधान अनुसार आफ्नो नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरेको बताए ।
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कांंग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवारमा क्षेत्रीय कार्य समितिमा गत मंसिर २२ गते युवा नेताले लाग्ने दस्तुर ११ हजार रुपैयाँसहित आवेदन दिएका थिए । क्षेत्रीय कार्यसमितिले त्यसबेला यादवसंगै पूर्वमन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको गरी ४ जनाको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद साहबुदिनले जानकारी गराएका थिए ।
तर त्यसको केहिदिन मै क्षेत्रीय कार्यसमितिले युवा नेता यादव बाहेक अरु तीन जनाको नाममात्रै जिल्ला कार्यसमितिमा सिफारिस गरेको खबर बाहिरिएपछि युवा नेता यादवले गत गत मंसिर २९ गते कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई नै भेटेर उम्मेदवार सिफारिसका लागि लिखित आवेदन दिएका थिए ।
त्यसपछि कांग्रेस जिल्ला कार्यसमितिले पनि युवा नेता यादवको नाम हटाएर अरु तीन जनाको नाम मात्रै मधेस प्रदेश कार्यसमितिलाई पठाएको मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले युवा नेता यादवलाई जानकारी गराएका थिए ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया निवासी यादव, नेबिसंघका पूर्वसभापति पनि हुन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व स्ववियु सचिवसमेत रहेका यादव, नेपाल तरुण दलको पूर्व जिल्ला सचिवसमेत रहिसकेका छन् ।

