वीरगन्ज,६पुसः वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका ग्रामीण भेगका वडाहरुमा पनि स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिएको छ । ग्रामीण भेगका बिरामी र सेवाग्राहीको सहजतालाई ध्यान दिदैं महानगरपालिकाले ग्रामीण भेगका वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुको भौतिक संरचना स्तरोन्नत्ती , सेवा विस्तार र जनशक्ति थप गर्दै आइरहेको छ ।
यसैक्रममा वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा पनि गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरि आइतबारदेखि बर्थिंग सेन्टर सञ्चालनमा ल्याइएको छ । आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिंग सेन्टरको समुद्घाटन गरेसंगै अब त्यहाँपनि २४ सै घण्टा प्रसूती सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रबर्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए ।
उनका अनुसार, लालपर्साको स्वास्थ्य चौकीकै भवनमा आइतबारदेखि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी प्रसूती सेवा सञ्चालनमा ल्याइएको हो । बर्थिंग सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना थप अनमीसहितका जनशक्तिको व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरक्षिक अनिशकान्त कुशवाहाले जानकारी दिए ।
कुशवाहा अनुसार, लननल पर्सा स्वास्थ्य चौकीमै दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशालापनि सञ्चालनमा रहेको छ । त्यहाँ ३७ प्रकारका जाँच हुने गरेको कुशवाहाले जानकारी दिए ।
यसअघि वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरको स्वास्थ्य चौकीमापनि गत शुक्रबारदेखि बर्थिंग सेन्टर सञ्चालनमा ल्याइएको थियो । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगही र वडा नम्बर २१ लिपनीको स्वास्थ्य चौकीमा बर्थिग सेन्टर सञ्चालनमा आइसकेको छ ।
आइतबार लालपर्साको बर्थिंग सेन्टर समुद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुर लगायतकाकोपनि उपस्थिती थियो ।

