वीरगन्ज,७मंसिरः मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्सा लगातार चार वर्षदेखि प्रथम हुदैं आएको छ। मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभरीका ८ जिल्लाका स्वास्थ्य कार्यालयले गर्ने कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय पर्सा आर्थिक वर्ष २०७८/७९ देखि लगातार प्रथम हुदै आएको हो । गत आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादनमा पनि उत्कृट अंकसहित स्वास्थ्य कार्यालय पर्सा प्रथम भएको हो ।
गत आर्थिक वर्षको कार्यसम्पादन मुल्याकंनमा स्वास्थ्य कार्यालय पर्सा ८७ अंक सहित प्रथम भएको हो । यस्तै स्वास्थ्य कार्यालय सर्लाही दोश्रो र स्वास्थ्य कार्यालय महोत्तरी तेश्रो भएको छ ।
मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका ८ वटा स्वास्थ्य कार्यालय, ११ वटा प्रादेशीक अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कार्यसम्पादन मूल्यांकनमा समावेश गर्दै आएको छ । कार्यसम्पादन मूल्यांकनका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रालयस्तरीय मुल्यांकन समिति गठन गरेको थियो ।
आइतबार जनकपुरमा मधेसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रथम भएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झालाई प्रमाणपत्रसहित पुरस्कृत गरे ।
जनतालाई दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि लगायतका विषयवस्तुका सूचकहरूको आधारमा मधेस प्रदेशमै स्वास्थ्य कार्यालय पर्सा उत्कृष्ट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य मन्त्रालयले पुरस्कृत गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।लगातार चार वर्षदेखि स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा प्रथम हुदैं आएको उनले बताए ।

