Madhes Khabar
राजनीति हेडलाइन

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

जनकपुरधाम,१६भदाैं : १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान प्रहरीले अगाडि बढाएको छ । ७ चैत २०६३ मा २७ जनाको ज्यान जाने गरी दुई राजनीतिक पार्टीबीच भएको हिंसात्मक झडपका आरोपीहरुमाथि प्रहरीले खोजतलास सुरु गरेको छ ।

 

हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि प्रहरीमा किटानी जाहेरी परेको थियो । सोहीअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले बताएका छन् ।

‘हामीले अनुसन्धान प्रक्रिया सुरु गरिसकेका छौं । जसअन्तर्गत आरोपित १ सय ३० जनाको तीनपुस्ते विवरण संकलनको कार्य भइरहेको छ’, डीआईजी चर्तुवेदीले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार आरोपीमध्ये ११ जनाको मृत्यु भइसकेको सूचना आएको छ तर, भनिएको कुरामा विश्वास गर्नुभन्दा पनि उनीहरूको मृत्युदर्ता प्रमाणपत्र खोज्ने र सो दिन तिनीहरूको भूमिकाबारे खोजतलास गरिरहेका छौं ।’

सर्वोच्च अदालतले गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको घटनाबारे अनुसन्धान गर्न परमादेश जारी गरेसँगै प्रहरीको अनुसन्धान प्रक्रिया सुरु भएको हो । गौर घटनाका पीडितका तर्फबाट चार जनाले सर्वोच्च अदालतमा दुई वर्षअघि दायर गरेको रिट निवेदनमा जिल्ला प्रहरी कार्यालय गौरमा दायर गरिएको जाहेरी अघि बढाउन परमादेशको माग गरिएको थियो । सर्वोच्चका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त मागबमोजिमको आदेश भाद्र २ गते दिएको हो ।

पीडितहरूले प्रहरीले घटनामा संलग्नमाथि अनुसन्धान र कारबाही प्रक्रिया अघि नबढाएको भन्दै आफूहरूको संवैधानिक उपचारको हक सुनिश्चित गरिदिन अदालतसमक्ष माग गरेको थियो । निवेदकहरूले २०६८ साल चैत २८ गते जिप्रका गौरमा जाहेरी दर्ता गराएको थियो ।

यता, गौरकाण्डका आरोपित उपेन्द्र यादव नेतृत्वकोे जसपा नेपालले आफ्नो अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै सर्वोच्चको आदेशविरुद्धमा प्रदर्शन गर्दै आएको छ ।

१९ वर्षअघि गौरको राइस मिलमा यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र पुष्पकमल दहाल नेतृत्वको नेकपा माओवादीको आमसभा एकै समय र एकै स्थानमा गर्ने विषयमा विवाद भई उग्र झडप भएको थियो । सो झडपमा ५ महिलासहित २७ जनाको निर्मम हत्या गरिएको थियो भने सय जनाभन्दा बढी घाइते भएका थिए ।मनिका झा/अन्नपूर्णपाेष्ट

Related posts

सरकारमा सहभागीता बारे जसपाकाे बैठक अनिर्णित

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

अब मधेसमा विकासको लहर आउँछ : प्रधानमन्त्री ओली

MadhesKhabar

Leave a Comment