वीरगन्ज,५पुसःपर्साको बिन्दावासनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीभाठामा शनिबार अहमदिया संघ नेपालले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरबाट ४७६ जना लाभान्वित भएका छन् ।
प्रसौनीभाठास्थित मसरुर माध्यमिक विद्यालयमा आयोजित शिविरमा आँखा जाँच गराएका मध्ये १८० जनामा मोतियाबिन्दुको समस्या भेटिएको छ । उनिहरुको आइतबार निःशुल्क शल्याकृया गरिने अहमदिया संघ नेपालको पर्सा–बारा ईन्चार्ज हासिम अहमदले जानकारी दिए ।
नेपाल नेत्र ज्योति संघ र केडिया आँखा अस्पतालको संयुक्त सहयोगमा आयोजित शिविरमा अहमदले “सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं “ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी गराए । नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, आत्मीय समझदारीका साथ शैक्षिक एवम् स्वास्थ्य सम्वन्धी सचेतना जगाई सब्य र समृद्ध समाज निमार्ण गर्नु नै अहमदिया संघ नेपालको मुख्य उदेश्य रहेको उनले बताए ।
अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षता तथा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यतामा आयोजित शिविरमा आएकाहरुको आँखाको जाँच केडिया आँखा अस्पतालका डा. रासदेव साह ,डा. शिवशंकर ,डा. अनिल कुमार साहलगायतको टोलीले गरेको थियो।
शिविरमा अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमद,सदस्य रहमतुलाह अहमद,शेख ईस्माईल,अलिक अहम,सजाउ हुसेन, हेल्थ असिस्टेन्ट अलताफ हुसेन लगायतकाकोपनि उपस्थिती थियो ।

