Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज महानगरले निर्माण गरेको तरकारी तथा फलफूल थोक बजार सन्चालनमा आयो

वीरगन्ज,२१मंसिरःवीरगन्ज महानगरपालिकाले वडा नम्बर. २ छपकैयास्थित रेल्वे रोड छेउमा निर्माण गरेको सुविधासम्पन्न तरकारी तथा फलफूल थोक बजार आइतबारदेखि सञ्चालनमा आएको छ ।

यसअघि वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा पर्ने घण्टाघर छेउको विपी उद्यानको खाली जग्गामा थोक तरकारी तथा फलफुल बजार वर्षौदेखि अव्यवस्थित ढंगले सञ्चालनमा थियो ।

त्यसैलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले छपकैयाको रेल्वे रोड छेउको सार्वजनिक जग्गामा करिब ७० लाख रुपैयाँको लागतमा सटरसहितको थोक बजार निर्माण गरेको हो । जसमा थोक तरकारी तथा फलफुल पसल र गोदामका लागि २८ वटा संटर,शौचालय, ढल लगायतका पक्की संरचना निर्माण गरिएको छ । त्यहाँ खानेपानी र विद्युतको सेवापनि उपलब्ध छ ।

 

आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित थोक तरकारी तथा फलफुल बजारको औपचारिक उद्घाटनपनि गरेका छन् । त्यसअवसरमा मेयर सिंहले थोक तरकारी तथा फलफुल बजार निर्माण छपकैया वासीकै पहिचान र नाममा जोडिएको बताए। उनले स्थानीय समुदायको भूमिका बजार सञ्चालनको मुख्य आधार हुने उल्लेख गर्दै, भने “यो बजार छपकैया वासीकै नाममा बनाइएको हो। सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ। यो यहाँकै सम्पत्ति र धरोहर हो,” ।

व्यवस्थित थोक बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भएपनि वीपी उद्यानमा रहेका तरकारी र फलफुल व्यवसायीको कारण ढिलाइ भएको उनले बताए। बिपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँ रहेको अव्यवस्थित बजारलाई हटाइने र उनीहरूलाई छपकैयामा नवनिर्मित थोक बजारमै स्थानान्तरण गरिने उनले बताए।

सिंहले भने, “हाम्रो लक्ष्य स्पष्ट छ— वैभव वीरगंज। व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधामा सुधार र कानुनको कडाइ। यही अवधारणामा महानगर अघि बढिरहेको छ।”

उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले थोक बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए । उनले भने, “व्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब किसानले सहज रूपमा उत्पादन ल्याउन, उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न र सवारी सञ्चालन पनि सरल हुनेछ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन्। थोक बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन्। आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजनासमेत रहेको कर्णले जानकारी दिए।

उनका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ। “यसले रोजगारका अवसर पनि सिर्जना गर्छ,” उनले भने ।

छपकैयामा हाल निर्माण गरि आइतबारलेखि सञ्चालनमा ल्याइएको थोक बजार निर्माण गरिएको जग्गा करिब तीन दशकदेखि विवादमा रहेपनि कानुनी प्रक्रियाबाट सार्वजनिक कायम भएको महानगरको दाबी छ। ताराचन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणी विक्रम शाह, शरद विक्रम शाह, हरिनारायण गुप्तालगायतले स्वामित्व दाबी गरे पनि २०४६ सालको नयाँ नापीमा उक्त जग्गा ‘महल खाली’ रहेको र कुनै स्वामित्व नदेखिएको महानगरले स्पष्ट गरेको छ।

विविध पक्षले नक्कली कागजात तयार गरी कब्जा प्रयास गरेपछि २०८० असोज २६ गते महानगरपालिकाको बोर्ड बैठकले जग्गा सार्वजनिक कायम गर्न निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो। मालपोत कार्यालयले १६ असोज २०८१ मा दाबीहरू खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको हो। यससँगै बजार निर्माण कानुनी रूपमा सुरक्षित भएको महानगरको निष्कर्ष छ।

 

 

 

 

 

Related posts

सखुवाप्रसौनीका अध्यक्ष यादवको अग्रसरतामा कक्षा ११ का छात्राहरुलाई साइकल वितरण

MadhesKhabar

सरकारसँग २० हजार मेटन मल मौज्दात, थप ३० हजार मेटन मल पुस मसान्तसम्म नेपाल आइपुग्ने

MadhesKhabar

वीरगन्जमा ९ दिने श्री विष्णु महायज्ञ हुदैं

MadhesKhabar

Leave a Comment