वीरगन्ज,३मंसिरः बाराको जीतपुरसिमरा महानगरपालिका वडा नम्बर २ सिमरामा बुधबार जेनजी पुस्ताका युवा र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुदाँ सिमरा क्षेत्र दिनभर तनावग्रस्त बन्न पुग्यो ।
बाराको परवानीपुरमा बुधबारका लागि पूर्वनिर्धारित युवा संघ नेपालको मधेस प्रदेश स्तरीय जनजागरण सभामा सहभागी हुनका लागि एमाले महासचिव शंकर पोख्रेल, युवा नेता महेश बस्नेत लगायतका नेता काठमाडौंबाट विमानमार्फत सिमरा विमानस्थलमा आउने कार्यक्रम थियो ।
काठमाडौंबाट आउन लागेका एमाले नेताहरुको विरोध गर्न सिमरा चोकमा बुधबार बिहान १०बजेतिर भेला भएका जेनजी युवाहरु र नेताहरुको स्वागतका लागि विमानस्थल जान लागेका एमाले कार्यकर्ताहरुबीच विवादभई झडप भएको थियो । त्यसक्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय घाइते भएपछि आक्रोशित जेनजी युवाहरुको समुहले सिमरा विमानस्थलमा पुगेर विमानस्थलको गेट तोडफोडगरि भत्काइ दिएका थिए ।
गेट तोडेर विमानस्थल भित्र पसेका जेनजी युवाहरुले विमानस्थल कार्यालयमा ढुंगा र शीशाका बोत्तलहरुपनि प्रहार गर्न थालेपछि त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले दुई राउण्ड अश्रु ग्याँस हानेर उनिहरुलाई त्यहाँबाट धपाएको थियो ।
विमानस्थलबाट फर्किएका जेनजी युवाहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्न थालेपटि स्थितीथप बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा बुधबार दिउँसो १२ः३० बजेदेखि बेलुकी ८ः३० बजेसम्मका लागि कर्फु आदेश जारी गरेको थियो । सिमराको अवस्था तनावग्रस्त बनेपछि बुधबार काठमाण्डौंबाट सिमराका लागि निर्धारित सबै हवाई उडानहरु रद्ध गरिएको थियो । जसका कारण सिमरा आउन भने त्रिभुवन विमानस्थलमा पुगिसकेका एमाले महासचिव पोख्रेल, युवा नेता बस्नेत लगायतका नेताहरु त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए ।
सिमरामा कर्फु लगाइएपनि आक्रोशित जेनजी युवा र उनिहरुका समर्थकहरुले सिमरचा चोकमा टायर बालेर दिनभर प्रदर्शन जारी नै राखेका थिए । बिहान जेनजी युवाहरुलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि प्रदर्शनकारी जेनजी युवाहरुले बुधबार बेलुकी ६ः३० बजेदेखि प्रदर्शन स्थगीत गरेका छन् ।
आँफुहरुको शान्तिपूर्ण प्रदर्शनमा एमालेका कार्यकर्ताहरुले आक्रमण गरेर आँफुसहित ५ जनालाई घाइते बनाएको जेनजी बाराका संयोजक सम्राट उपाध्यायले बताए । उनले भने, हाम्रो शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम थियो । तर एमालेका नेताकार्यकर्ताले हामीमाथि आक्रमण गरेपछि माहौल बिग्रिएको हो । आक्रमणकारी एमालेका कार्यकर्तालाई प्रहरीले पक्रेर कारबाही गरेन भने हामी चुप लागेर बस्दैनौं ।
यता एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोकबिक्रम शाहले भने पार्टीको कार्यक्रममा आउन लागेका नेताहरुको स्वागतका लागि सिमरा चोकमा भेला भएका एमालेका कार्यकर्ताहरु र फरक विचारका युवाहरुबीच विवाद भएपछि अवस्था बिग्रिन पुगेको बताए । कसैले पनि निषेधको राजनीति गर्न नपाइने भन्दै उनले भने, लोकतन्त्रमा विरोध गर्न पाइन्छ । तर कार्यक्रममा नेतालाई जानै दिन्न भन्न पाइन्न ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बुधबार बिहान दुई समुहबीच झडप भएपछि सरकारी र निजी सम्पत्तिका साथै मानवीय क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कफ्र्यु जारी गरिएको बताए । प्रहरीसंग भएको झडपका क्रममा प्रदर्शनकारीबाट प्रहार भएको ढुंगाले लागेर केहि प्रहरीपनि घाइते भएको उनले बताए ।
यता सिमराको घटनका कारण एमाले महासचिव पोख्रेल, नेता बस्नेत आउन नसकेपनि बाराको परवानीपुरमा भने युवा संघ नेपालको प्रदेशस्तरीय जागरणसभा भने सम्पन्न भएको छ । युवा संघका केन्द्रिय अध्यक्ष छितिज थेवे,केन्द्रिय इन्चार्ज राजिव पहारी लगायतका नेता सहभागी भई सभालाई सम्बोधन गरेका थिए ।सिमरामा जेनजीका नाममा केहि समुहले प्रदर्शन गरेर परवानीपुरको कार्यक्रम बिथोल्न खोजेपनि परवानीपुरको कार्यक्रम हजारोैंको सहभागितामा भव्य रुपमा सफल भएको संघका केन्द्रिय सचिव मोबिन आलमले दाबी गरे ।

