जनकपुरधाम,२५कात्तिक: मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् ।
जनकपुरस्थित मधेस भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका आन्दोलनकारी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।
घाइते प्रदर्शनकारीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेस भवनभित्र जाँदा अवस्था तनावग्रस्त बनेको थियो ।
मधेस भवनभित्र यादवले पदभार ग्रहण गरिरहँदा बाहिर आन्दोलन चर्किएको थियो ।त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठी प्रहारबाट ५ जना प्रदर्शनकारी घाइते भएका हुन्।साभार:अनलाइनखबर

