Madhes Khabar
धर्म/संस्कृति

छठ माई प्रति वीरगन्जका मेयर सिंहकाे अगाध आस्था: दउरा बाेकेर छठघाटमा पुगे, सुर्य भगवानलाई दिए अर्घ

वीरगन्ज,१०कात्तिक:लाेक आस्था र सूर्य उपासनाकाे महापर्व छठ यस वर्ष पनि वीरगन्जमा अत्यन्तै श्रद्धा, भक्ति र उत्साहका साथ मनाइदै छ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि यस पावन अवसरमा आफ्नो परिवारसहित स्विमिङपुलस्थित छठघाटमा सहभागी भई श्रद्धापूर्वक पूजा–अर्चना गरेका छन्।

सिंहले परम्परागत रूपमा आफ्नै निवासबाट ‘दउरा’ बोकेर छठघाट पुगे ।उनले परिवारका सदस्यहरूसँगै साँझको समयमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठी मइयाको आराधना गरे। छठ घाटमा पुगेका सिंहले भने “छठ केवल पर्व होइन, यो हाम्रो संस्कृति, आस्था र श्रमप्रतिको सम्मान हो । तराई–मधेसका जनजीवनमा छठले एकता, पवित्रता र श्रद्धाको सन्देश दिन्छ । हरेक वर्ष झैँ यस वर्ष पनि छठी मइयाको कृपाले नगरवासीको सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै श्रद्धापूर्वक सहभागी हुन पाउनु नै मेरो सौभाग्य हो ।”

उनले वीरगन्जलाई सांस्कृतिक पहिचान र धार्मिक सहिष्णुताको केन्द्र बनाउने अभियानमा महानगर निरन्तर लागि परिरहेको पनि बताए ।

यस वर्षदेखि स्विमिङपुल परिसरमा अवस्थित छठघाटमा आरती कार्यक्रम पनि सुरु गरिएको छ, जसले वातावरणलाई अझै भक्तिमय बनाएको छ।आरतीका साथ घाँघरा र दीपमालाले सजिएको छठघाटमा स्थानीय समुदाय, महिलाहरू, युवाहरू र परिवारजनहरूको उल्लेखनीय सहभागिता रहेको थियाे ।

छठ पर्वमा व्रतालुहरूले चारदिनसम्म उपवास, शुद्धता र आत्मसंयम पालन गर्दै सूर्य देव र छठी मइयाको आराधना गर्छन्। यो पर्व सूर्यदेवलाई जीवन, ऊर्जा र समृद्धिको प्रतीक मानेर मनाइन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी प्रकृति, जल, माटो र मेहनतकश जीवनप्रति कृतज्ञता व्यक्त गरिन्छ।

तराई–मधेसको सांस्कृतिक पहिचान बनेको यो पर्व अहिले देशका विभिन्न भागमा मात्र होइन, विदेशमा रहेका नेपालीहरूबीच पनि समान श्रद्धा र उत्साहका साथ मनाइने परम्परा बनिसकेको छ।

Related posts

घडिअर्वाको रामजानकी मन्दिर पूजारीको कब्जाबाट मुक्त गराउन वडा कार्यालयले बोलायो `सार्वजनिक भेला´

MadhesKhabar

छठ पर्व : आज खरना विधि गरिँदै

MadhesKhabar

वीरगन्जमा राम उत्सव : माईस्थानमा बालियाे सवा लाख दीयाे, घडिअर्वामा डेढ घण्टासम्म आतीशबाजी

MadhesKhabar

Leave a Comment