सिमरा,५कात्तिक: मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन्।
नेपाल सम्वत् ११४६ को प्रारम्भका अवसरमा सिमरा नेवाः खलले बुधबार बाराकाे सिमरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर अघि बढ्न आवश्यक गरेको बताए।
गणतन्त्रले नेपालीलाई स्वाभिमानका साथ बाँच्न पाउने वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री साेनलले लोकतन्त्र र गणतन्त्र बाँचेमा मात्रै समुन्नत नेपालको कल्पना गर्न सक्ने बताए। उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न नेपाली जनताको काँधमा ठूलो जिम्मेवारी आएको समेत बताए।
मुख्यमन्त्री साेनलले जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा आएको बताउँदै उक्त आन्दोलनले उठाएको भष्ट्राचारको अन्त्य र सुशासन कायम जस्तो मागमा समर्थन रहेको बताए। उनले उक्त मागको सम्मान गर्ने बताउँदै त्यसलाई गणतन्त्रको फ्रेमभित्र राखेर अघि बढ्न जरुरी रहेको बताएका छन्।
परिवर्तनकारी पार्टीहरूको गठनबन्धनमा मधेसमा नयाँ सरकार बनेको बताउँदै मुख्यमन्त्री सिंहले जनताले पाउने सुविधा छिटो छरितो बनाउन सरकार लागिसकेको बताए। वर्तमान सरकारले भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको उनको भनाई थियो।
यसैगरी मुख्यमन्त्री साेनललाई बुधबार सिमरास्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले बुधबार बधाई ज्ञापन गरेको छ। मुख्यमन्त्रीलाई सम्मान गर्दै समितिले पर्यटन प्रवर्द्धनका लागि निर्माणाधीन पार्कमा बजेट विनियोजन गर्न समेत माग गरेको थियो। मुख्यमन्त्री सिंहले जितपुरसिमरा २ स्थित छठघाटको समेत अवलोकन गरेका छन्। साभार:अन्नपूर्णपाेष्ट

