Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सार कार्यालयमा रोकिएन `दस्तुरी´: व्यापारीहरु हैरान

वीरगन्ज,२७असाेज: जेनजी आन्दोलनको बलमा सत्तापलटपछि रामेश्वर खनालले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै उनले भन्सार सुधारको काम थाले । विराटनगर भन्सारमा सन्दर्भ मूल्य हटाएर भन्सार मूल्यांकनमा नमूना अभ्यास शुरू गरेको अर्थ मन्त्रालयले मातहतका विभाग र कार्यालयहरूमा कुनै प्रकारका अनियमितता र सेवाग्राहीलाई हैरानी दिने काम भएमा गुनासोका लागि हटलाइन नम्बर पनि सार्वजनिक गर्यो ।

तर, आयातनिर्यात कारोबारका हिसाबमा सबैभन्दा ठूलो नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयमा अहिले पनि सेवाग्राहीलाई हैरानी दिने र अनधिकृत रकम माग्ने काम बन्द नभएको उद्यमी व्यापारीले बताएका छन् । व्यापार सहजीकरणलाई मुख्य उद्देश्य बनाएको वीरगन्ज भन्सार कार्यालयका कर्मचारीले व्यवसायीसँग दस्तुरी (घूस) माग गर्ने र नदिएमा अनेक बहानामा दुःख दिने गरेको वीरगञ्जका आयातकर्ताले गुनासो गरेका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भने यस्तो अनियमितता नहोस् भनेर सतर्क रहेको र त्यस्तो फेला परेमा संलग्न कर्मचारीलाई कारबाही गर्ने दाबी गर्छन् । व्यापार सहजीकरण र प्रक्रियागत पारदर्शितामा जोड दिइएको ती भन्सार अधिकारीले बताएका छन् ।

आयातकर्ताका अनुसार भन्सार जाँचपासमा प्रतिगाडी १ हजारदेखि ५ हजार रुपैयाँसम्म यस्तो रकम बुझाउनु परेको छ । ‘पैसा नदिए सामान अनलोड गराउने र चेकजाँचको बहानामा २–४ दिन गाडी होल्ड गरिन्छ । यसबाट आयातकर्तालाई गाडीको डिटेन्सन र लोडअनलोडको खर्चको भार पर्दछ । यस्तोमा बरू केही रकम दिएर कर्मचारीलाई मिलाएर खर्च बचाउनु परेको छ,’ ती व्यापारीले भने ।

भन्सार जाँचपासमा खटिने जाँचकी र अधिकृतले भन्सार एजेन्टमार्फत यस्तो अनधिकृत रकमका लागि दबाब दिने गरेको व्यापारी बताउँछन् । भन्सारबाट रातो लेनमा जाँचपास हुने गाडीमा कर्मचारीले यस्तो चलखेल गरेको व्यापारीको भनाइ छ ।

एउटा एचएस कोडमा आएको मालसामानलाई बढी राजस्व लाग्ने अर्कै कोडमा राखेर मूल्यांकन गरिने भन्दै आयातकर्तासँग अनधिकृत रकम माग गरिएको गुनासो व्यवसायीको छ । ‘लेनदेन मिलेमा घोषित कोडमै पास हुन्छ, रकम दिन अस्वीकार गरेमा बढी राजस्व लाग्ने कोडमा राखिदिन्छन्,’ एक आयातकर्ताले भने । आयातकर्ताले पेश गरेको बीलबिजकलाई मान्यता नदिई सन्दर्भ मूल्य भिडाएर जरीवाना समेत तिराउने गरिएको छ ।

आयातकर्ताले पेश गरेको बीलबिजकलाई मान्यता दिनुपर्ने र अन्तरराष्ट्रिय रूपमै मान्यता पाएको एचएस कोडलाई अस्वीकार गर्ने परिपाटी गलत भएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले पटकपटक भन्सार विभागदेखि अर्थ मन्त्रालयका अधिकारीहरूको ध्यानाकर्षण गराएको संघका अध्यक्ष हरि गौतमले बताए । उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्ष रहेका बेला वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई वीरगञ्जका उद्यमीले दिएको सुझावमा समेत यो विषय समेटिएको गौतमले बताएका छन् ।

आयातकर्ताले पेश गरेको बीलबिजकलाई मान्यता नदिने सन्दर्भ मूल्यांकनको पद्धति नै दस्तुरीको जड बनेको भन्दै आयातकर्ताले यस्तो प्रक्रिया हटाउनुपर्ने माग गर्दै आएका थिए । अर्थ मन्त्रालयले नमूनाको रूपमा विराटनगर भन्सारबाट शुरू गरेको सन्दर्भ मूल्य हटाउने अभियानलाई देशैभरका भन्सारमा लागू गर्नुपर्ने सुझाव आयातकर्ताको छ ।

गत साउनदेखि सिर्सिया सुक्खा बन्दरगाह भन्सार र आईसीपी भन्सार गाभिएर वीरगन्ज भन्सारको नाममा सेवा दिइरहेको यो भन्सारबाट दैनिक १ हजार २०० को हाराहारीमा गाडी भित्रिइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक बताउँछन् । तीमध्ये करीब ६० प्रतिशत गाडी रातो लेनमा जाँचपास हुने उनले बताए ।

रातो लेनमा जाँचपास हुने मालसामान र कागजपत्र भन्सार अधिकारीले राम्ररी जाँचेरमात्र छोड्नुपर्ने प्रावधान छ । पहेँलो लेनमा आएका सामग्रीको कागजपत्र जाँचिन्छ भने हरियो लेनमा आयाकर्ताको घोषणाकै आधारमा भन्सार पास हुन्छ ।

सरकारले भन्सार जाँचपास प्रक्रिया पारदर्शी बनाएर राजस्व चुहावट नियन्त्रणका लागि रातो लेन घटाएर पहेलो वा हरियो लेन बढाउने नीति लिए पनि रातो लेनबाटै बढी मालसामान भित्रिने गरेको छ । गतवर्ष तत्कालीन सुक्खा बन्दरगाह भन्सारमा हरियो लेनमा एक सयभन्दा बढी कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भित्रिएको रहस्य खुलेपछि केही समयका लागि हरियो लेन नै निलम्बन गरिएको थियो । त्यसबेला भन्सार कर्मचारीको मिलेमतोमा प्रतिबन्धित वस्तु भित्रिएको खुलासा भएको थियो ।

रातो लेनमा राजस्व चुहावटको दृष्टिले बढी जोखिमपूर्ण वस्तु पर्दछन् । यही लेनका वस्तुको जाँचपासमा भन्सार कर्मचारीले आयातकर्ताका प्रतिनिधिसँग रकम माग गर्ने र नदिए जाँचको निहुँमा अड्काउने गरेको आयातकर्ताले बताएका छन् ।

वीरगन्ज भन्सारबाट दैनिक ७०० जति गाडी रातो लेनबाट जाँचपास हुन्छन् । यी गाडीबाट औसतमा प्रतिगाडी ३ हजार रुपैयाँमात्र उठ्ने मान्दा पनि उठाइएको अनधिकृत रकममात्र दैनिक लाखौं रुपैयाँ हुने दाबी एक भन्सार एजेन्टले गरेका छन् । एजेन्टका अनुसार जाँचपासमा खटिएका कर्मचारीले यस्तो रकम वीरगञ्ज भन्सारका कर्मचारीदेखि भन्सार विभागसम्म भागबण्डा हुने बताउने गरेका छन् ।

प्रमुख भन्सार अधिकृत पाठक भने आफूहरूले आयातनिर्यात कारोबारलाई सहजीकरण र भन्सारमा प्रक्रियागत सुधारको काम गरेको दाबी गर्छन् । ‘हामीले भन्सार प्रक्रियालाई सहज बनाउने काम गरेका छौं । व्यापारीलाई सहजीकरण नै गरेका छौं । त्यस्तो कुनै अप्ठेरो र समस्या परेको छ भने त्यसको समाधान दिन पनि हामी तत्पर छौं,’ पाठकले भने । रकम दिएकै भरमा चेकजाँच नहुने र नदिएकै कारण हैरानी दिने काम नहुने दाबी उनको छ ।

कुनै पनि मालसामानको चेकजाँच र मूल्यांकन भन्सारको नियमित काम भएको भन्दै प्रमुख भन्सार अधिकृत पाठकले कुनै व्यवसायीलाई कर्मचारीले हैरानी दिएको भए व्यक्तिगत रूपमा आफूलाई भेटेर समस्या जानकारी गराएमा सहजीकरण गरिदिने उनले बताए । अनधिकृत रकम मागिएको प्रमाणित भएका कर्मचारीलाई कानूनी कारबाही हुने चेतावनी पनि उनले दिए । ओमप्रकाश खनाल/आर्थिक अभियान

Related posts

मधेस प्रदेशको मुख्यमन्त्रीमा साेनल नियुक्त

MadhesKhabar

पर्सा जिल्लामा ३८ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप लगाइने

MadhesKhabar

भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगन्ज आइपुग्यो

MadhesKhabar

Leave a Comment