काठमाडौं,२१ असोजःपूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि भने जाहेरी लिने भएको हो ।
तर, प्रहरीले तत्काल जाहेरी दर्ता भने नगर्ने एक उच्च प्रहरी अधिकृतले बताए । ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ ती अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं ।’
जेनजीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए ।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ‘कानुनी फ्रेमवर्कभित्रै रहेर निर्णय लिइने’ बताएको स्रोतको भनाइ छ । त्यसपछि उत्पन्न परिस्थितिमा प्रहरी जाहेरी लिन त तयार भएको छ । तर, दर्ता नगरी आयोगमा बुझाउने निर्णय भएको स्रोतले बतायो ।साभारःइकान्तिपुर

